• १२ वैशाख २०८१, बुधबार

दोलखामा साहसिक पर्यटन प्रवर्धन

blog

बाबुराम शर्मा

दोलखा, जेठ ३० गते । दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्धनका लागि ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ। 

आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा यस क्षेत्रको आर्थिक समृद्धि र विकासमा सहयोग पुग्ने भएकाले ‘रक क्लाइम्बिङ’ सुरु गरिएको सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो। 

छ महिना अध्ययन गरेर सोक्ला पर्यटन विकास समाज र माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगान) ले अहिले तीन वटा मार्ग तयार गरी प्रयोगमा ल्याएको अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अहिले २५ मिटर ‘रक क्लाइम्बिङ’ छिचोलिएको छ। आगामी वर्ष थप २५ मिटर रक क्लाइम्बिङ छिचोलिने छ। यहाँ ४२० मिटर ‘रक क्लाइम्बिङ’ मार्ग तयार गर्ने लक्ष्य छ।

बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले भन्नुभयो, “यो गतिविधिले दोलखाको पर्यटनमा टेवा पुग्ने छ। यो खेल पर्यटनको हिस्सा भएकाले यसलाई उत्पादनका रूपमा प्रवर्धन गर्न बोर्डले सक्दो सहयोग गर्ने छ।” 

सोक्ला पर्यटन विकास समाजले गुरुयोजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटन गतिविधि सुरु गरेको हो। खेलाप, सोक्ला र चक्पासँग जोडिएका तीन वटै पहरामा ‘मिनी रक क्लाइम्बिङ’, ‘एडभान्स’ र ‘हाई लेबल’ को ‘रक क्लाइम्बिङ’ गर्न सक्ने विज्ञ तथा माउन्टेन गाइड छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो। शेर्पाले भन्नुभयो, “अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि यो ठाउँ छनोटमा छ। यहाँ पाँच वटा रुट बनाएर ‘रक क्लाइम्बिङ’ गर्न सकिन्छ। यहाँ ‘रक क्लाइम्बिङ’ सँगै साइक्लिङ पनि गर्न सकिन्छ।”

गुमडाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोशी किनारमा अवतरण गर्ने बेस क्याम्प बनाउन आवश्यक छ। सोक्ला खेलाप क्षेत्रमा कृषि पर्यटनसँगै जिपलाइन र बन्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सकिने शेर्पाको अध्ययनले देखाएको छ। 

फ्रान्सका नागरिकले समेत सोक्ला गाउँको ‘रक क्लाइम्बिङ’ क्षेत्रको भ्रमण गरेका छन्। नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको यो टिमले यस क्षेत्रको प्रवर्धनका लागि सहयोग गर्ने आश्वासन दिएका छन्। सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्बिर र भिडियोलाई सामाजिक सञ्जालसँगै फ्रान्समा समेत प्रचार गर्ने उनीहरूले बताएका छन्। 

सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै समाजका अध्यक्ष पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताउनुभयो। 

सोक्लालाई साहसिक पर्यटनको गन्तव्य बनाउन ‘रक क्लाइम्बिङ’, बन्जी र प्याराग्लाइडिङसँगै -याफ्टिङ प्रवर्धनमा भीमेश्वर नगरपालिकाले बजेट व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। यहाँको सांस्कृतिक सम्पदा, जातीय तथा भाषिक विविधतालाई अध्ययन केन्द्र, पर्यापर्यटनलाई जोड दिनुपर्ने पाख्रिनको भनाइ छ।