• ११ मंसिर २०८१, मङ्गलबार

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको सपना हो : नेता महर

blog

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर (बीच) मा ।

धनगढी, जेठ २९ गते ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ । 

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गर्नुभयो ।

 गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनताले मात्र नेपालका साथै भारतका जनताले पनि उपचार पाउने छन् । 

नेता महरले भन्नुभयो, ‘‘अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनुपर्ने अवस्था छ। हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन्। जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन्। यसले यसै क्षेत्रको विकास हुने हो, यो मेडिकल पर्यटनका रूपमा पनि अगाडि बढ्ने छ।’’ 

२०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेको र सानो घर पनि बनाएको स्मरण गराउँदै महरले भने, ‘शंकराचार्यले नै २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गर्नु भएको हो। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दिएको थियो।’’

२०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरे पनि अहिलेसम्म ५ अर्ब ३३ करोड खर्च भइसकेको छ। गेटामा ५१ वटा भवन निर्माण भइसकेका छन्। 

यति हुँदा पनि सरकारले कहिले मेडिकल कलेज बनाउने, कहिले स्वास्थ्य विश्वविद्यालय त कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर जनतालाई अलमल्याउने कार्य गरेको बताउनुभयो ।