• १२ मंसिर २०८१, बुधबार

लम्पी स्किन राेग नियन्त्रण गर्न खाेप

blog

फाइल तस्विर ।

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २९ गते । स्याङ्जाको वालिङमा पशुहरूमा लम्पी स्किन देखिन थालेपछि भ्याक्सिन लगाउन सुरु गरिएको छ । देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ । 

गाईगोरु तथा भैँसीहरूका लागि लम्पी स्किन रोग विरुद्ध लम्पी शील्ड एन भ्याक्सिन लगाइएको वालिङ नगरपालिकाले जनाएको छ । वालिङ ९ सुकौँदीमा रहेको गौशालाका गाईहरूमा पहिलो पटक लम्पी स्किन देखिएको पालिकाले जनाएको छ ।

गौशालामा रहेका करिब १५ गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । यसमध्ये १० वटा गाईको नमुना परीक्षणका लागि क्षेत्रीय पशु तथा अनुसन्धान पोखरामा पठाइएको थियो । अनुसन्धानले ४ गाईहरूमा लम्पी स्किन पुष्टि गरेपछि यस विषयमा कृषकहरूलाई जनचेतना जगाउने र स्वस्थ पशुहरूमा भ्याक्सिन लगाउने कार्य गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख लेखनाथ अर्यालले जानकारी दिनुभयो ।

अहिले गौशालामा लम्पी स्किन देखिएका गाईमा भने निको भएको छ । त्यस्तै वडा नं. ९, १२, १४ र ५ मा समेत लम्पी स्किन देखिएपछि नगरपालिका पशु शाखाले विभिन्न सञ्चार माध्यमबाट जनचेतना जगाउने तथा विभिन्न तालीमका अवसरहरूमा यस सम्बन्धी कृषकहरूलाई सचेत गराउने गरिएको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले दुई हजार पाँच सय डोज भ्याक्सिन किनेर अहिले पशुहरूमा खोप लगाउने कार्य गरिएको छ ।

लम्पी स्किनबाट बच्न भ्याक्सिन मात्रै एक विकल्प हो । सुरुमा नगरपालिकाका १४ वटै वडामा पुगेर व्यावसायिक फार्महरूमा खोप लगाइएको पालिकाले जनाएको छ । यो भ्याक्सिन रोगको लक्षण देखिएका गाईगोरुमा भने लगाउन नहुने अर्यालको भनाइ छ । अब वडा नं. ८ का केही फार्म र १ को केही फार्महरू बाँकी रहेको र अन्य व्यावसायिक फर्महरूमा रहेका गाईगोरु तथा भैँसीलाई खोप लगाइएको छ ।

मुख अर्यालका अनुसार आइतबार वडा नं. ४, ५ र ११ का कृषकहरूको घरघरमा रहेका पशुहरूमा खोप लगाइएको छ । कृषि प्राविधिकहरूले कृषकहरूलाई रोग सम्बन्धी जानकारी गराउँदै आएका छन् । यो रोग लागेमा पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलिने, दूध दिन छाड्ने र अन्तमा पशुको मृत्यु समेत हुन सक्छ । पशुहरूमा यस्ता लक्षण देखिएको पशुलाई अलग राख्ने, मान्छेको आवतजावत रोक्ने र तुरुन्त वडा कार्यालय, नगरपालिका तथा पशु शाखा कार्यालयमा खबर गर्न पशु शाखा वालिङले आग्रह गरेको छ ।