• १४ मंसिर २०८१, शुक्रबार

लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण

blog

लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गरिँदै । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, जेठ २९ गते ।
 रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो ।

चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेपछि लागूऔषध सेवनकर्ता चालकको चेकजाँच तथा परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताउनुभयो ।

सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्यूरोको सहकार्यमा चालकहरूले लागूऔषध सेवन (लापसे) गरे नगरेको परीक्षण गरिएको हो ।

पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट)मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवा गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।

“प्रहरी सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत नै सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरूको चालकको परीक्षण गरेका छौ, आकस्मिक रूपमा बेला बेलामा विभिन्न ठाउँमा यो परीक्षण गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो, “जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परीक्षण गरेको हो ।”

पन्तले बेलहियातर्फबाट आउने अधिकांश चालकहरूको परीक्षण गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही शङ्कास्पद देखिएपछि किटमार्फत परीक्षण गरिएको छ,” उहाँले भन्नुभयो ।

ट्राफिक प्रमुख पन्तले परीक्षण गरिएका ११ जनामध्ये तीन जनाले लागूऔषध सेवन गरेको पाइएको जानकारी दिनुभयो ।

विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ । प्रहरीका अनुसार अनुसन्धान गरी प्रयोगकर्ता हो कि ओसारपसार वा अन्यमा संलग्न छ भन्ने खुलेपछि सोही अनुसार कारबाही हुने छ ।

ट्राफिक प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागूऔषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाँजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागु औषध प्रयोग गरेको छ भनी किटमार्फत “अन द स्पट” चेक हुने छ । ट्राफिक कार्यालयले किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसकेपनि बेला बेलामामा भएको सीमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको जानकारी दिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिएको छ । एक साता अघि पनि रुपन्देहीबाट चेकजाँचकै क्रममा तीन जना चालकले लागूऔषध सेवन गरी सवारीसाधन चलाएको पाएपछि कारबाही गरेको थियो । कारबाहीमा पर्ने डरले सीमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरू सचेत हुँदै गएपनि पूर्णरुपमा रोक्न सकिएको छैन ।