• ९ पुस २०८१, मङ्गलबार

बजेट नसच्चिए सरकार सङ्कटमा पर्छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले बजेटमा करेक्सन नगरे सत्ता गठबन्धन सरकार सङ्कटमा पर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सत्ता गठबन्धन पाँच वर्ष चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भएमा सरकार ढल्नसक्ने उहाँले चेतावनी दिनुभयो । बजेटमा सबैजना असन्तुष्ट रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने उहाँले बताउनुभयो । 

बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै उहाँले आफूहरू यथास्थितिमै बजेट पारित हुन नदिने दाबी गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्नेगरेका छन् । 

सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा पनि आशंंका उत्पन्न भएको उहाँले बताउनुभयो ।   

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताउनुभयो । कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पशुपति जानुभयो नि ? पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “कोही आस्थाले र कोही चर्चा कमाउनका लागि मन्दिर जानेगरेका छन् ।” शनिवार प्रधानमन्त्री दाहालसहित केही मन्त्रीहरू पशुपतिनाथको दर्शनका लागि त्यहाँ पुग्नुभएको थियो ।