• १२ मंसिर २०८१, बुधबार

हजार नाघे दादुराका बिरामी

blog

काठमाडौँ, जेठ २८ गते । दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्।

महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको जानकारी दिनुभयो।

बाँकेमा सबैभन्दा धेरै ३२९ जना दादुराका बिरामी पुष्टि भएको उहाँले जानकारी दिनुभयो। बाँकेमा एक लाख ७३ हजार ३२४ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन्। उहाँले कैलाली, सुनसरी र महोत्तरी सबैभन्दा बढी प्रभावितमध्येका जिल्ला रहेको बताउनुभयो। ती क्षेत्रमा हालसम्म दुई लाख १५ हजार ५४ जनाले दादुराविरुद्धको खोप लगाइसकेका छन्। काठमाडौँमा दादुरा खोजपड्ताल सकिएको छ। काठमाडौँका बिरामीमध्ये नौ जना बिरामी अस्पताल भर्ना भएकामा सबै डिस्चार्ज भएको उहाँले बताउनुभयो। 

उहाँले दादुरा रुबेलाविरुद्धको खोप पहिलो मात्रा नौ महिनामा र दोस्रो मात्रा १५ महिनामा लगाउनुपर्ने जानकारी दिँदै खोप नलगाएका कारण दादुरा फैलिएको बताउनुभयो। दादुरा रोग अत्यन्तै सङ्क्रामक भएकाले यसबाट बच्न खोपको दुवै मात्रा पूरा गर्नुपर्ने भन्दै उहाँले एक जनाले १८ जनासम्मलाई सार्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो। 

उहाँका अनुसार दादुरा पुष्टि भएका कुल बालबालिकामध्ये २३ महिनाभन्दा माथिका ७८ प्रतिशत, नौ महिनाभन्दा मुनिका १०.२५ प्रतिशत र नौदेखि २३ महिनाका ११.७३ प्रतिशत बालबालिका रहेको बताउनुभयो। उहाँले दादुरा फैलिएपछि नियन्त्रणका लागि बिहीबारदेखि दादुरा रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको जानकारी दिनुभयो। दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा चुनौती थपिएको छ।