काठमाडौं, जेठ २७ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिनु भएको छ । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रलाई सङ्कटमा आउन नदिन पनि कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको सङ्गठनलाई गाउँगाउँमा, घरघरमा, वडा वडामा पुर्याएर यो पार्टीलाई मजबुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरि नै सङ्गठन बलियो भएर जानेछ । हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ ।’’
सभापति देउवाले प्रजातन्त्रमाथि फेरि सङ्कट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर सङ्गठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नु भयो ।
‘‘त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा सङ्कट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ । त्यसका निम्ति महत्त्वपूर्ण जिल्लाबाट सुरु भएको यो आन्दोलन देशभरीनै यो सङ्गठनलाई बलियो बनाउने, पार्टीलाई बलियो बनाउँदै प्रजातन्त्रलाई बलियो पर्छ । अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी बनेको छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘यहाँ केही कुराहरू उठेका छन् साथीहरू । उठाउनु पनि पर्छ । कुरा महत्त्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाइ बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरूमा सहमति हुन जरुरी छ । यदि सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊ ।’’
त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्न पुगेको स्मरण गराउनुभयो ।