• २५ वैशाख २०८१, मङ्गलबार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

कृषि, उद्योग र पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा

blog

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रदेश प्रमुख अमिक शेरचन । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, जेठ २६ गते । लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारासहित कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश राजधानी दाङको देउखुरी उपत्यकालाई आधुनिक सहरको रूपमा विकास गर्ने उल्लेख छ । प्रस्तुत नीति तथा कार्यक्रममा सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने, बाली सघनता वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादन बढाउन माटो व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने, साना उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गर्ने नीति लिइएको छ ।  

त्यसैगरी, कृषिबजार प्रणाली पहिचान गरी कृषकबाट कृषकसम्म प्रविधि कार्यक्रम सञ्चालन गर्ने, घरदैलोमा प्राविधिक सेवा: उत्पादनमा टेवा भन्ने नारा कार्यक्रममा उल्लेख गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा बागवानी र अर्घाखाँचीको मालारानीमा बाख्राको सरकारी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रममा श्रमको सम्मान: लुम्बिनी प्रदेशको अभियान भन्ने नाराकासाथ प्रदेशलाई श्रममैत्री बनाउने उल्लेख गरिएको छ । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमबाट पढ्दै कमाउँदै, कमाउँदै पढ्ने कार्यक्रम सञ्चालन गर्ने, रोजगारदाता र रोजगार खोजीकर्ताबीच समन्वय बढाउन एकीकृत रोजगार पोर्टल विकास गर्ने, सीप सिकौँ दक्ष बनौँ, उद्योग खोलौँ स्वरोजगार बनौँ नारामार्फत रोजगारी अभिवृद्धि गरिने कार्यक्रम तय गरिएको छ । 

त्यसैगरी उद्योग स्थापनामा प्रोत्साहन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । मानव विकासको आधार: लुम्बिनीको सुरक्षित पूर्वाधार नारा तय गरिएको छ । प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको पाल्पाको रामपुरदेखि रोल्पाको जिनबाङलगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण र स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । 

प्रदेश सरकारको एक घर एक धाराको अभियान सफल बनाउन प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा मेरो स्वास्थ्य मेरो जीवन भन्ने नाराका साथ जीवनशैली प्रवर्द्धन तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।    

त्यसैगरी लुम्बिनीलाई केन्द्रबिन्दु बनाई देवदह, रामग्राम, सगरहवा, निग्लिहवा, कुदान र तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्न सङ्घ सरकारसँग समन्वय गर्ने कार्यक्रममा उल्लेख छ । आगामी दशकलाई लुम्बिनी भ्रमण दशकका रूपमा मनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गर्ने, पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा सुशील कोइराला स्मृति लोकतान्त्रिक अध्ययन प्रतिष्ठान स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।