• ६ चैत २०८०, मङ्गलबार

अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २५ गते । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ । 

बिहीबार भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको हो । जितको लागि एक सय ३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलन ५९ र कप्तान रिची बेरिंग्टन ४१ रन बनाउनुभयो । बलिङमा नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३ रन मात्र बनाउन सकेको थियो । नेपालका लागि कुशल मल्लले ३७ रन बनाउनुभयो । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन तीन विकेट लिनुभयो । शफ्यान शरिफले दुई तथा निल र हम्जा ताहिरले एक एक विकेट झार्नुभयो । नेपालले दक्षिण अफ्रिकामै शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।