• ४ पुस २०८१, बिहिबार

राष्ट्रिय सभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

blog

राष्ट्रियसभा बैठक ।

काठमाडौं, जेठ २५ गते । राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद डा. विमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो,“लामो खडेरी र बढ्दो तापक्रमले तराईको जनजीवन अस्तव्यस्त भएको,यसबाट विद्यालय, कार्यालय बन्द रहेको र अस्पतालमा बिरामी बढिरहेका  छन् ।  सरकारले सम्भावित जोखिमबारे जनचेतनाको साथै राहत र उद्धारको कामलाई कसरी व्यवस्थित गर्दैछ यसको जानकारी गराउनु पर्छ ।”

सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “नक्साबारे नेपाल सरकारले भारतसरकारसँग स्पष्ट जवाफ माग गर्नुपर्छ ।”

सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसँग माग गर्नुभयो । 

सांसद महेशकुमार महराले वि.सं. २०७७ साउनमा परेको अविरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताउनुभयो । 

सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्छ भन्नुभयो । अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौं पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नति हुन नसकेको र वर्खायामको समयमा यात्रु र सर्वसाधारणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । रासस