• २ जेठ २०८२, शुक्रबार

शेयर लगानीकर्ताको सुरक्षाका लागि मन्त्रालयको पूर्ण सहयोग रहन्छ : अर्थमन्त्री डा महत

blog

काठमाडौँ,  जेठ २५ गते । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ।”

उहाँले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताउनुभयो । उक्त जिम्मेवारीलाई उच्च महत्त्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ  र यसलाई अझ उचाइमा पु¥याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उहाँले शेयर बजारलाई अझैँ स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताउनुभयो । 

“आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो”, उहाँले भन्नुभयो ।

शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने भन्दै उहाँले पुँजीबजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरूको सुरक्षा गर्नु बोर्डको ठुलो जिम्मेवारी भएको बताउनुभयो । 

“शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश विषय छ । धितोपत्र बोर्डलाई ‘अटोमेटेट सिस्टम’ लैजानुपर्छ”, उहाँले भन्नुभयो,  “हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सतर्कता धितापत्र बोर्डले अपनाउनुपर्छ ।”

शेयर बजारलाई स्वास्थ्य बनाउन नेपाल राष्ट्र बैङ्कले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ । “शेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने र नाम भने ५६ लाख लगानीकर्ताको लिने प्रवृत्तिको अन्त्य जरुरी छ”, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको भरपुर उपयोग गर्न अर्थमन्त्री डा महतले सुझाव दिनुभयो ।  उहाँले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो । रासस