• १२ मंसिर २०८१, बुधबार

वालिङमा ठेउलाको महामारी

blog

वालिङ –१२ को कोखेमा स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, जेठ २४ गते । स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षण भइरहेको छ, यो सङ्ख्या बढ्न सक्छ ।”

गह्रौँ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ढकालसहितको प्राविधिक टोलीले स्थलगत रूपमा उपचार निरन्तर रूपमा भइरहेको छ । रोगको महामारी अर्थात् आउटब्रेक भएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीले गाउँलाई रेखदेखमा राखेको पाण्डेले जानकारी दिनुभयो ।

समुदायमा रोग फैलन नदिन समुदाय सचेतिकरण कार्यक्रम समेत सञ्चालन गरिएको वालिङ नगरप्रमुख कृष्ण खाणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोगको सङ्क्रमण फैलिन नदिनका लागि सजगता अपनाउने काम भइरहेको छ, स्थानीयलाई सचेत गराउने काम पनि भइरहेको छ ।”

प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सहयोग गर्ने र सहजीकरण गर्ने काम भइरहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । महामारी फैलिएको कोखे गाउँमा डब्लुएचओका स्वास्थ्यकर्मीको टोलिले स्थलगत सहयोगको काम सुरु गरेको वालिङ नगरपालिकाले जनाएको छ ।