• १२ मंसिर २०८१, बुधबार

स्थायी सरकारको दायित्व

blog

जनतामा सरकारी सेवा र सुविधा सहज पु-याउने मूल दायित्व प्रशासनिक संयन्त्रमा निहित रहेको हुन्छ । प्रशासनिक संयन्त्र राजनीतिक तह (सरकार) को प्रमुख कार्यकारी अङ्गका रूपमा रहने र राजनीतिक तह जनताको नजिक रहने तथा भिन्न राजनीतिक वादलाई आफ्नो मूल लक्ष्य बनाएर अगाडि बढेको हुन्छ तर सरकार वा प्रशासनिक संयन्त्र कुनै राजनीतिक वादमा आधारित हुँदैन । यो कार्यपालिकाको सहयोगी अङ्ग मात्र हो । सरकारी नीति र कार्यक्रमलाई कुनै आस्था, वाद वा अन्य कुनै विभेदको भावनारहित रूपले जनतालाई सार्वजनिक सेवा पु-याउने संयन्त्र हो । जनताले सेवाको उपभोगमा मूलतः बिनाभेदभाव सार्वजनिक सेवामा पहुँच, बिनाभेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार, सार्वजनिक सेवाको गुणस्तरता, सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकार पाउनु पर्दछ भन्ने मान्यता सार्वजनिक सेवा प्रवाहको सिद्धान्तले राख्दछ ।

सरकार कुनै राजनीतिक दल विशेषको हुने भएकाले सामान्यतया उसले आफू अनुकूलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वाभाविकै हो तर प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनोट प्रणालीबाट आएका हुन्छन् । उनीहरूको पेसागत मर्यादा, आचरण, उत्तरदायित्व एउटा निश्चित कानुनी आधारशीलाबाट निर्देशित भएको हुन्छ । यसर्थ उनीहरूले चुनाव प्रणालीबाट आएका पदाधिकारीको आदेशलाई स्वेच्छा वा कुनै वादबाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानुनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकूल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल तथा सहज तरिकाबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो । 

विश्व इतिहास, राजनीतिक घटनाक्रम र समाज विकासक्रमलाई हेर्दा प्रशासनयन्त्र राजनीतिक प्रणालीको उपप्रणालीको रूपमा रहेको तथा यो राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य पक्षको चरित्रभन्दा बेग्लै हुन नसक्ने देखियो । सामाजिक प्रणालीको उपप्रणालीको रूपमा रहेको प्रशासनयन्त्रको आफ्नै छुट्टै चरित्र नभएकाले यसको चरित्र सार्वजनिकभन्दा चरित्र विशेषबाट प्रभावित हुन सक्ने खतरा बढ्यो । यसर्थ समाज र राजनीतिक परिवेश जस्तो भए पनि राज्य र जनताबिचको सम्बन्ध (सेवा लिने र दिने) सदा सुमधुर रहनु पर्दछ भन्ने सन्दर्भमा तटस्थता र प्रतिबद्धताको सामयिक अवधारणा आएको हो । 

स्थायी सरकारको नाताले एउटा राष्ट्रसेवकको रूपमा कर्मचारीको आफ्नो राष्ट्रप्रति विशिष्ट दायित्व रहेको हुन्छ । प्रशासनयन्त्र कुनै पनि दल विशेषको राजनीतिक दर्शन, सिद्धान्त र चिन्तनबाट सार्वजनिक रूपमा प्रभावित हुनु हुँदैन । कर्मचारीले आफ्नो कार्यसम्पादन गर्ने क्रममा यस्तो झुकाव प्रदर्शन गर्नु तटस्थताको परम्परागत अवधारणाका दृष्टिले उपयुक्त मानिँदैन । विड्रो विल्सनका अनुसार राजनीति र प्रशासनको बिचमा एउटा लक्ष्मणरेखा विद्यमान रहेको हुन्छ, त्यो लक्ष्मणरेखा नीति निर्माण र नीति कार्यान्वयन गरी दुई कित्तामा विभाजित भएको हुन्छ । नीति निर्माणको दायित्व राजनीति अर्थात् सरकारको हो भने नीति कार्यान्वयनको दायित्व प्रशासनयन्त्रको हो । विड्रो विल्सनपछि म्याक्स वेबरलगायत प्रशासनविद्बाट यस्तै तटस्थतामा जोड दिइएको पाइन्छ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो, जसमा कर्मचारी कुनै वाद, आस्था, समूह वा वर्गगत साइनोबाट आफूलाई पूर्ण रूपमा मुक्त गराउँछ । उसको मूल ध्येय भनेको कानुनले निर्धारित गरेका प्रव्रिmयालाई पूर्ण रूपमा परिपालन गर्दै सेवाग्राहीको सम्बन्धमा स्वच्छता, निष्पक्षता, इमानदारी र तटस्थतालाई आफ्नो मूलमन्त्र बनाई पेसागत दक्षता, व्यावसायिकता र विशिष्टताका आधारमा सरकारको प्रतिनिधिको रूपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । तटस्थतामा राजनीतिक तटस्थता, वर्गीय तटस्थता, संस्कारगत तटस्थता, भौगोलिक तटस्थता, भाषिक तटस्थता, धार्मिक तटस्थता आदि पर्ने गर्छन् । सार्वजनिक जिम्मेवारी ग्रहण गरेका प्रशासकहरू यस्ता सामीप्यताबाट मुक्त रहन सक्नु पर्दछ । 

संयुक्त राज्य अमेरिकाको लुट प्रणाली अर्थात् स्प्वाइल सिस्टम र बेलायतको सन् १८५४ अघिको ड्युकको सिफारिस प्रणालीमा आधारित निजामती संरचनाले प्रशासन राजनीतिबाट प्रभावित हुँदा नकारात्मक असर परेकाले यसको विकल्पमा योग्यतामा आधारित निजामती सेवाको विकास हुन पुगेको थियो । त्यस्तै म्याक्स वेबरको आदर्श कर्मचारीतन्त्रले राजनीति र प्रशासनको पृथक् र विशिष्ट भूमिकाको पक्षमा वकालत गरेको छ । प्रशासनिक प्रतिबद्धता र तटस्थता आवश्यक भएको तर्कलाई विड्रो विल्सनको पोलिटिक्स एडमिनिस्ट्ेसन डिकोटोमी, मन्टेस्क्युको सेपरेसन अफ पावर, जोन एडम्सको चेक एन्ड ब्यालेन्स, फ्रेड रिग्सको पोलिटिकल इकोलोजी र म्याक्स वेबरको डक्टरिन अफ एनोनिमिटी जस्ता अवधारणले जोड दिएका छन् । 

प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता, प्रतिबद्धता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्दछ । बिनाभेदभाव सार्वजनिक सेवामा पहुँच र बिनाभेदभाव सार्वजनिक सेवा उपभोगको अधिकार तटस्थ प्रशासनिक संयन्त्रबाट मात्र सम्भव छ भने सार्वजनिक सेवाको गुणस्तरता, सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, प्रश्न गर्ने र जानकारी लिन पाउने अधिकारको प्रत्याभूति प्रतिबद्ध प्रशासनिक संयन्त्रबाट सम्भव हुन्छ । सार्वजनिक प्रशासकले हरेक तहमा राजनीतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबद्धता, कार्य सम्पादनमा प्रभावकारिता । आफ्नो विशिष्टता तथा दक्षताको कुशल प्रदर्शन गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा प्रशासनको दायित्व तटस्थतासहितको प्रतिबद्ध दक्षताको अवधारणाको प्रत्याभूति गर्नु हो । प्रशासकहरू योग्यता प्रणालीका उपज भएकाले आफ्नो कार्यलाई विधिको आवरणबाट सुरक्षित राखी सेवा प्रवाहमा जनप्रशंसा प्राप्त गर्न सक्ने पोख्त योद्धा बन्न सक्नु पर्दछ । 

विज्ञ, व्यावसायिक, क्षमतावान् व्यक्तिको समूह तथा राज्यको स्थायी संयन्त्र हो प्रशासन । यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बिचको सम्बन्ध सेतु पनि हो प्रशासन । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ, त्यति नै सरकार त जनता बिचको सम्बन्ध असल हुने गर्दछ । यही असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्दछ । प्रशासनयन्त्रको सकारात्मक पूर्वसक्रियताले राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियामा आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् । कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र 

त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण पनि प्राप्त हुन्छन् । त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकतासहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको संवाहक हो । 

प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अङ्ग हुन् । राजनीति सधैँ भविष्यद्रष्टा, महत्वाकाङ्क्षी, शीघ्र परिणाम खोज्ने, जोखिम लिने, परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफैँ गर्न सक्दैनन्, यसमा कानुनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ । राजनीतिज्ञले भविष्यको सकारात्मक अमूर्त चित्रको परिकल्पना गर्दछ भने प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्दछ । तटस्थतासहितको प्रतिबद्ध प्रशासन, सकारात्मक कार्यशैलीको सक्रिय प्रशासनको आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न राजनीतिक संयन्त्र र प्रशासनिक संयन्त्र सकारात्मक र प्रतिबद्ध रहनु आवश्यक हुन्छ । तटस्थतासहितको प्रतिबद्ध दक्षताले नै सकारात्मक र सक्रिय प्रशासनको प्रत्याभूति गर्न सक्दछ । तटस्थ, प्रतिबद्ध, दक्ष, सकारात्मक र सक्रय प्रशासनले शासन प्रणालीलाई जनमुखी बनाउनमा सहयोग गर्दछ । 

लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ ।