• १३ वैशाख २०८१, बिहिबार

स्वच्छ वातावरणका लागि विद्यालय परिसरमा वृक्षारोपण

blog

वातावरण दिवसको अवसरमा विरुवा रोपिदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २२ गते । काठमाडौं महानगरपालिका –१३ ताहाचलस्थित जनप्रभात माध्यमिक विद्यालय परिसरमा सोमबार  ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ मूल नाराका साथ वृक्षारोपण गरिएको छ । वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा जडीबुटी तथा फलफुलका १०८ बोट रोपिएको छ । 

विश्व वातावरण दिवसको अवसर पारेर पर्यावरणमा स्वच्छता बढाउने उद्देश्यसाथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको सञ्जालका अध्यक्ष निरू महर्जनले बताउनुभयो । सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताउनुभयो । 

‘वातावरण प्रदुषणका कारण गर्भमा भएको बच्चाको दिमागमा समेत प्रतिकुल असर पार्ने हुनाले वृक्षारोपण स्वच्छ स्वासप्रश्वासका लागि नभई नहुने एक अपिहार्य काम हो’ उहाँले बताउनुभयो । 

वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालले गरेको कार्यक्रमले आफ्नो विद्यालय परिसर हरियाली एवम् वायु स्वच्छता हुने बताउनुभयो ।

कामपा २० वडा अध्यक्ष राजेन्द्र मानन्धरले वृक्षारोपणमा मात्र सीमित नरही बिरुवा हुर्काउनमा पनि थप कदम चाल्नुपर्ने बताउनुभयो । बिरुवा रोप्न सजिलो तर हुर्काउन अन्यन्तै गाह्रो हुने भएकाले आफ्ना बालबच्चासरह नियमित हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामशरण डंगोलले वृक्षारोपणले गर्दा विद्यालय क्षेत्र प्रदूषणमुक्त हुने बताउनुभयो ।