• ७ वैशाख २०८१, शुक्रबार

बुटवल महानगर बन्ने चरणमा छ

blog

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ। बुटवलले देशकै प्रमुख औद्योगिक, पर्यटकीय तथा ऐतिहासिक सहरका रूपमा स्थान बनाएको छ। त्यसैले अन्य स्थानीय तहको भन्दा बुटवल उपमहानगरका आवश्यकता र चुनौती फरक छन्। यसै सन्दर्भमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसँग गोरखापत्रका भुवन कार्कीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : 

निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको एक वर्ष पूरा भइसकेको छ। यो अवधिमा के के काम भए ?

हामीले २०७९ जेठ ९ गते पदभार सम्हालेका हौँ। पहिलो वर्ष हामीले यसअघि बाँकी रहेका र अलमलमा परेका योजना अगाडि बढायौँ। हामीले बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ। जनताका सुझाव लिएका छौँ। देशभरका उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन ग-यौँ। यो कार्यक्रमपछि सङ्घीयता कार्यान्वयनका लागि अलमलमा परेका विषयमा सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ। हामी बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।

जनतासँग प्रत्यक्ष जोडिएका र अनुभव हुने के कस्ता काम भए ? 

जनताले अनुभूत गर्ने खालका धेरै काम यो एक वर्षमा भएका छन्। बुटवल–१३ र १७ मा एक/एक वटा अस्पताल निर्माणको काम भइरहेको छ। १५–१५ शय्याका यी दुवै अस्पताल आगामी साउनदेखि नै सञ्चालनमा आउने छन्। आधुनिक पशु वधशाला निर्माण सम्पन्न भएको छ, छिट्टै सञ्चालन गर्ने गरी तयारी भएको छ। सहरलाई व्यवस्थित बनाउन धेरै प्रयास भएका छन्। मुख्य सडक र चोकमा अव्यवस्थित ठेला हटाई वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको छ। बुटवलको मुख्य सडक लामो समयदेखि अलपत्र अवस्थामा थियो। सङ्घीय सरकारको योजना अनुसार सडक निर्माण सुरु भए पनि समयमा काम पूरा नहुँदा बुटवलवासीले सास्ती खेप्नु परेको थियो। यो सडक अहिले निर्माण भइरहेको छ। अब सर्भिस लेन निर्माण हुन र हरित पेटी बनाउने काम बाँकी छ। बुटवल–१५, सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्न इआइए अन्तिम चरणमा पुगेको छ। त्यसै गरी ७ र ८ वडामा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ बिघा जग्गामा हरियाली बसपार्क निर्माणका प्रक्रिया अगाडि बढाइएका छौँ। बसपार्कमा बन्ने बहुतले पार्किङ भवनले बुटवलको पार्किङको समस्या समाधान हुनेछ। यस्ता काम निरन्तर भइरहेका छन्।

बुटवल उपमहानगरको विकासका लागि के कस्ता चुनौती पाउनुभयो ?

बुटवलका मुख्य चुनौतीका रूपमा ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुमवासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापन जस्ता विषय छन्। यसको समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाइ गरिरहेका छौँ।  


बुटवल उपमहानगरपालिकाले महानगरपालिकाको मापदण्ड पूरा गरेको छ। महानगर बनाउनेतर्फ तपाईंको सोच के छ ? 

बुटवल यसअघि नै महानगर बन्ने हैसियतमा पुगिसकेको थियो। वीरगञ्ज महानगर घोषणा हुँदा बुटवल घोषणा हुन सकेन। बुटवलमा महानगर बन्नका लागि सबै पूर्वाधार तयार छन्। तथ्याङ्कले पनि त्यस्तो देखाउँछ। बुटवल रङ्गशाला, बुटवल टेक्निकल इन्स्टिच्युट, कोरियन प्राविधिक शिक्षालय जस्ता पूर्वाधार छन्। लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञसहितको अस्पताल बुटवलमै रहेको छ। हामीले पनि अरू स्तरीय अस्पताल निर्माण गर्ने र स्तरोन्नति गर्ने काममा लागेका छौँ। सुविधासम्पन्न टर्मिनलसहितको बसपार्क छ। योभन्दा स्तरीय बसपार्क निर्माण हुँदै छ। तरकारी तथा फलफूल वितरण केन्द्र सञ्चालनमै रहेको छ र आधुनिक र उच्च क्षमताको कृषि उपज केन्द्र निर्माणको तयारीमा रहेका छौँ। हामीसँग बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल रहेका छन्। यी र यस्ता कुराका कारण बुटवललाई महानगरपालिका घोषणा गर्न रोकिने अवस्था आउँदैन। 


प्रदेशको राजधानी दाङ सरिसकेपछि यहाँका आर्थिक गतिविधि खस्कियो भन्ने छ। अब यसको उचित समाधानको खोजी कसरी गर्दै हुनुहुन्छ ?

बुटवलमा राजधानी आइसकेपछि यहाँको हरेक क्षेत्र उत्साहित थियो। त्यसैका कारण लगानी थपियो। आफ्नो सुनौलो भविष्य खोज्न यहाँ आउने बढेका थिए। राजधानी गइसकेपछि बुटवलले आर्थिक रूपमा धेरै क्षति नबेहोरे पनि मानसिक रूपमा प्रभाव पारेको छ। हाम्रो बजार विस्तार हुँदै छ। हिजोका दिनमा एकै ठाउँमा केन्द्रित रहेको बजार अहिले फराकिलो बनेर पूरा बुटवल क्षेत्रमा फैलिएको छ। यसलाई निराशाका रूपमा होइन, उत्साहका रूपमा लिनु पर्छ। हामी बुटवललाई बर्दघाटदेखि चन्द्रौटासम्मको केन्द्रकै रूपमा विकास गर्ने अभियानका साथ अगाडि बढिरहेका छौँ।