• १६ चैत २०८०, शुक्रबार

मनाइयो पनौती जात्रा

blog

बनेपा समाचारदाता 

बनेपा, जेठ २२ गते । काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । 

जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो । पार्वतीले ६४ योगिनीको रूप धारण गरी भगवान् महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मत्त भैरव र महादेवको रूप धारण गरी पार्वतीलाई सम्भोग गरेको सम्झनास्वरूप तीन वटा रथ जुधाएर पनौती जात्रा मनाउने प्रचलन रहेको छ । 

जात्राको पहिलो दिन ज्येष्ठ शुक्ल तृतीयाको साँझ ‘दुइँचा–न्या–के–गु’ विधि गरेपछि जात्राको सुरु हुन्छ । पहिलो दिन देवघरबाट ब्रह्मायणी र भद्रकालीको मूर्ति निकालेर त्रिवेणीघाटमा लगी एउटा राँगो, दुई बोकाको बलि दिई जग्गे गरेर कालरात्रिको पूजा गर्ने प्रचलन रहेको साहित्यकार सूर्यप्रसाद लाकोजुले बताउनुभयो । उहाँले 

सोही दिन नै त्रिवेणीघाटमा रहेको वासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाडेर वासुकी नागलाई गाईको दूध चढाउने प्रचलन रहेको बताउनुभयो । उहाँले जात्राको 

दोस्रो दिन मुख्य जात्रा रहने भएकाले पनौतीवासीले यसलाई ‘मु (मुख्य) जात्रा’ भन्ने गरेको बताउनुभयो । कुनै पनि रोग नलाग्ने विश्वाससहित जात्राको अन्तिम दिन आइतबार पनौतीवासीले पुण्यमती र रोशमती नदीको सङ्गममा स्नान गरेका छन् । 

जात्राको अन्तिम दिन भद्रकाली र उन्मत्त भैरवको रथ तीन÷तीन पटक जुधाइन्छ भने भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन रहेको इन्द्रेश्वर 

महादेव मन्दिरका पूजारी रमेशप्रसाद जङ्मले जानकारी दिनुभयो । उहाँले पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि अन्तर्सम्बन्धित रहेको बताउनुभयो । पनौती जात्रालाई चिउली र केरा खाने तथा घुम किन्ने जात्राका रूपमा समेत बुझिने गरिएको छ ।