• १२ वैशाख २०८१, बुधबार

प्लाष्टिकको सट्टा कपडाको झोला प्रयोग

blog

धर्बेन्द्र झा 

धनुषा, जेठ २१ गते । विगत पाँच वर्षदेखि पोलिथिन प्लास्टिक मुक्त सहर निर्माणमा जुटेका जनकपुरधामका स्वच्छता अभियानीहरुले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा नगरवासीलाई आइतबार प्लास्टिकका झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आग्रह गर्दै तीन सय जनालाई कपडाको झोला वितरण गरेका छन् । 

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यका साथै पर्यावरणमा प्रतिकुल असर पार्ने गरेको भन्दै गत पाँच वर्षमा १८ हजार कपडाको झोला वितरण गरेको अभियानका संयोजक कृष्णचन्द्र साहले जानकारी दिनुभयो । उहाँले अभियान सञ्चालन भएपछि जनकपुरधाम नगर क्षेत्रमा चिया पसलेहरूले प्रयोग गर्दैआएको प्लाष्टिकको ग्लासको प्रयोग हुन छाडेको र अभियानको सफलता रहेको बताउनुभयो । 

अब नगर क्षेत्रमा सिसा र माटोले बनेका कपहरू प्रयोगमा आएको उहाँले बताउनुभयो । कहीँ कतैबाट बजेट नलिई नागरिक समाजका अगुवाहरूले आफ्नै सहयोगबाट उक्त अभियान सञ्चालन गरेको अभियानका संयोजक साहले बताउनुभयो । 

उक्त अभियानको पाँच वर्ष पूरा भएको अवसरमा आज जनकपुरधाममा आयोजित वार्षिकोत्सव कार्यक्रममा स्वच्छता अभियानी एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवले पर्यावरणको संरक्षणका लागि वृक्षारोपण, जलाशयहरूको संरक्षण र प्लाष्टिक बहिष्कार गरेमा मात्रै मानव सभ्यता जोगिने भएकोले यसका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले वृक्ष रोपण नगरे, जलको संरक्षण नगरे र पोलोथिन, प्लाष्टिकको प्रयोग बन्द नभएमा मानव सभ्यता समाप्त हुने भएकोले यस विषयमा हामी सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले सुरुमा बङ्गलादेशले सिङ्गल युज प्लास्टिकमा प्रतिबन्ध लगाएपछि विकसित धेरैजसो देशहरूले प्रतिबन्ध लगाए पनि नेपालमा भने अहिलेसम्म प्रतिबन्ध नलाएकोले सिङ्गल युज प्लास्टिकमाथि प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गर्नुभयो । 

उहाँले पर्यावरणमा देखिएको प्रतिकुल असरकै कारण अहिले ४५ डिग्रीसम्म तापक्रम हुनेगरेको र यसले आम नागरिकलाई असर पारिरहेको भन्दै पर्यावरण जोगाउनको लागि सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नागरिक समाजका अगुवा अमरचन्द्र अनिलसहितकाले पर्यावरणको संरक्षणका विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।