• ७ वैशाख २०८१, शुक्रबार

स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष हो : सभामुख मण्डल

blog

मधेस प्रदेशका सभामुख मण्डलसहित कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २१ गते । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ । औपचारिक क्षेत्रीय सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालयले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार आयोजना गरेको मधेश प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो । 

उहाँले सरकारी साधन स्रोतलाई सीमित जातिमा केन्द्रित गरियो भने विद्रोह हुनेगरेको भन्दै मानवअधिकारका प्रतिपादित सिद्धान्तलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समस्यै समस्याले समाज घेरिएको छ । तर ती समस्याले एउटा दिसा पनि दिन्छ ।” 

उहाँले देश शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानवअधिकारको अभाष गरेको भन्दै मानव अधिकारको पूर्ण पालनाका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षामा जोड दियौँ भने युगान्तकारी परिवर्तन हुनसक्ने बताउनुभयो । सभामुख मण्डलले हामी अधिकारको विषयवस्तुमा मात्रै केन्द्रित हुनेगरेको भन्दै अधिकारका साथसाथै दायित्व निर्वाह गर्नेतर्फ समेत हामीले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश प्रदेशमा मानवअधिकार पालनाको अवस्थामा विगतभन्दा धेरै सुधार भएको बताउनुभयो । उहाँले आफू मुख्य न्यायाधिवक्तामा नियुक्त भएपछि प्रदेशका जेल, प्रहरी हिरासतसहितको ठाउँमा अनुगमन गरेको चर्चा गर्नुभयो । 

विगतभन्दा धेरै सुधार भएको अभाष आफूलाई भएको उहाँको भनाइ छ । सामाजिक सुधारको सूचकाङ्कलाई कायम राख्न मानवअधिकारको पूर्ण पालना जरुरी रहेको उहाँले बताउनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको उलङ्घन नहुनेगरी स्थानीय प्रशासनले सजग भएर कामकाज गरिरहेको बताउनुभयो ।

इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नागरिक समाज, मानव अधिकाररक्षक र राज्यबीच मानव अधिकारको रक्षाका लागि काम गर्ने बेला साझेदारीको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा सहभागी भएकाहरूले मधेश प्रदेशमा दलित र पछि पारिएका समुदायहरूले मानव अधिकारसँग सम्बन्धित विभिन्नखालका समस्याहरू भोग्न बाध्य भए पनि राज्यको ध्यान नगएको बताउनुभयो । 

कार्यक्रममा सहभागी न्यायाधिवक्ता राजकुमार महासेठले राज्यले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा इन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेललाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।