• ४ वैशाख २०८१, मङ्गलबार

भरत तालमा पानी भरियो

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ २१ गते । पछिल्लो समय मधेश प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा भत्किएको बाँध कसेर पुनः पानी भरिएको  छ। 

यही आइतबार तालको दक्षिण–पश्चिम भेगबाट एक्कासि बाँध फुटेर पानी बगेपछि ताल नै सुकेको थियो। तत्कालै बाँध कस्ने काम सकेर तालमा पानी भरिएको बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो। बागमती नगरपालिकाले १२१ बिघामा पोखरी खनेर माछा पालन गर्ने र त्यसभित्रै होटललगायतका अन्य पर्यटकीय संरचना निर्माण गरेर पर्यटकीय स्थलका रूपमा विकास गरिरहेको छ । ताल अवलोकन तथा घुमफिरका लागि दैनिक ठुलो सङ्ख्यामा नेपाली तथा भारतीय पर्यटक आउने गरेका छन् । बाँध फुटेर पानी सुकेपछि तालमा बोट (डुङ्गा) सञ्चालन हुन छाडेको थियो । बाँध कसेर पुनः बागमती नदीको पानी हालेसँगै बोट सञ्चालनमा ल्याइएको उपप्रमुख मोक्तानले बताउनुभयो। तराई क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण तालमा अवलोकनका लागि आउनेको सङ्ख्यामा भने कमी आएको स्थानीयवासीले बताएका छन्। विभिन्न पर्व तथा अवसरमा यस तालमा मानिसको अत्यन्त भिड लाग्ने गरेको छ।