महेश दास/नागेन्द्र कर्ण
जलेश्वर, जेठ २१ गते । कोही शिव पार्वती रूप बनाएका छन् भने कोही भूतप्रेत त कोही राक्षस, कोही रामसीताका रूप बनाएका छन्। कोही नाच्दै छन् भने कोही लामवद्ध भएर झुम्दै छन्। बिचबिचमा संसारीमाता की जय एकै स्वरमा दसौँ हजार सहभागीले नारा लगाइरहेका छन्।
हरेक जातजातिको आफ्नो मौलिक पहिरन र झाँकी सजिएर गइरहेको छ। यि र यस्ता दृश्य शनिबार जलेश्वरमा हेर्दा सबै जना मन्त्रमुग्ध देखिन्थे। बुढापाका, बालबालिका, विद्यार्थी तथा स्थानीयवासी सबै एक जुट भएर भिडमा स्वरमा स्वर मिलाउँदै नाच्दै गएको दृश्यले जलेश्वरमा संसारीमाताको पञ्च वार्षिक महापूजामा रौनक थपिएको छ।
नेपाली सेनाको बाजा टोली, सशस्त्र प्रहरीको बाजा टोली, तराई मधेशमा हराउँदै गएको ढोलपिपही (सहनाइ), आधुनिक डिजे बाजा, ट्रली साजसज्जा, घरिघण्टाको धुनले उत्साह बढाएको थियो। यो दृश्य संसारीमाताको महापूजाको अवसरमा निकालिएको कलश यात्राको हो। दसौँ हजारको सहभागितामा निकालिएको कलश यात्रामा कलश बोकेर कुमारी कन्यासहितका सहभागीहरूले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए।
महापूजाको सप्ताहव्यापी निर्धारित कार्यक्रम अनुसार जलेश्वरस्थित वरुणसर पोखरीको डिलमा रहेको संसारीमाताको मन्दिर परिसरबाट सुरु भएको कलश यात्रा साहुजी टोल, महेन्द्र चोक, मटिहानी बसपार्क हुँदै जिरोमाइल, अस्पताल चोक भएर राजदेवी मन्दिर हुँदै संसारीमाता मन्दिर अगाडि पुगेर सम्पन्न भएको संसारीमाता महापूजा मूल समारोह समितिका अध्यक्ष अशोककुमार साहले बताउनुभयो।
“कलश यात्रामा उत्साहजनक सहभागिता देखेर मन प्रसन्न भएको छ” समितिका अध्यक्ष साहले भन्नुभयो, “संसारीमाताको पूजामा हरेक तह तप्काको व्यक्तिहरूको सहभागिताले पूजाको रौनक नै बढाएको छ, यो जलेश्वरको लागि गौरवको क्षण हो।” संसारीमातालाई हरेक धर्म सम्प्रदायले मान्ने भएकोले हरेक सम्प्रदायको पहिचान बोकेको धार्मिक सांस्कृतिक बाजागाजासहित कलश यात्रामा सहभागिता रहेको उहाँले बताउनुभयो।