अविनाश चौधरी
धनगढी, जेठ २० गते । आदिवासी जनजाति रानाथारु समुदायका अगुवाले जनगणनामा आफ्नो समुदायको यकिन तथ्याङ्क नसमेटिएको आरोप लगाएका छन् । दुई जिल्लामा दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दैआएका यो समुदायका अगुवाहरु २०७८ को जनगणना तथ्याङ्क सार्वजनिक भएपछि झस्केको बताएका छन् ।
जनगणनाले नेपालमा रानाथारु समुदायको जनसङ्ख्या ८३ हजार ३०८ (कुल जनसङ्ख्याको ०.२९ प्रतिशत) रहेको देखाएको छ । जनगणनामा केही तलमाथि हुनु स्वभाविक रहे पनि रानाथारु समुदायको जनसङ्ख्याको तथ्याङ्क विश्वास गर्न नसकिने आएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले बताउनुभयो ।
“भाषिक रुपमा रानाथारुको जनसङ्ख्या आउनु ठिक हो” उहाँले भन्नुभयो, “यकिन तथ्याङ्क नआउनु चाहिँ बेठिक हो ।” सार्वजनिक भएको तथ्याङ्कप्रति नेपाल रानाथारु समाजले आपत्ति जनाएको छ ।
नेपालमा कैलाली, कञ्चनपुर गरी दुई जिल्लामा मात्रै रानाथारु समुदायको बसोबास छ । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका लगायतमा यो समुदायको बसोबास छ । यसैगरी, कञ्चनपुरमा दोधारा–चाँदनी नगरपालिकाबाहेक बाँकी सबै पालिकामा यो समुदायको बसोबास छ । कञ्चनपुरको लालझाँडी रानाथारु बहुल पालिका हो । यो पालिकामा ९५ प्रतिशत रानाथारु समुदायको बसोबास छ ।
कञ्चनपुरमा मात्र डेढ लाखभन्दा बढी रानाथारु समुदायको जनसङ्ख्या रहेको भन्दै अध्यक्ष रानाले जनगणनाको तथ्याङ्क विश्वास गर्न नसकिने जिकिर गर्नुभयो । “हामी यसको विरोध गर्छौ” उहाँले भन्नुभयो ।
यसअघिको जनगणनामा यो समुदायको जनसङ्ख्या थारुभित्र समेटिने गरेको थियो । २०७६ माघ २० गते सरकारले रानाथारु समुदायलाई छुट्टै आदिवासी जनजातिको रुपमा सूचीकृत गरेपछि पहिलो पटक रानाथारु समुदायको जनसङ्ख्या आएको हो ।
आफ्नो समुदायको मात्रै जनसङ्ख्या आउने भएपछि उत्साहित भएका यो समुदाय जनगणनाको परिणाम सार्वजनिकपछि निराश बनेको बताएका छन् । जनगणनामा उल्लेख भएको रानाथारुको जनसङ्ख्याको सही तथ्याङ्क नआएको रानाथारु समुदायका युवा कमलसिंह रानाले प्रतिक्रिया दिनुभयो ।