• ८ वैशाख २०८१, शनिबार

लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै

blog

काठमाडौँ, जेठ २० गते । काठमाडौँ महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिनुभयो। उहाँले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गर्नुभयो। यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन नगरे ट्राफिक प्रहरीसँग समन्वय गर्दै महानगर प्रहरीले नियम अनुसार कारबाही गर्ने जनाएको छ। त्यसै गरी धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको सूचनामा उल्लेख छ। 

काठमाडौँमा दैनिक करिब सात सयको सङ्ख्यामा सवारीसाधन प्रवेश गर्छन् र यही सङ्ख्यामा बाहिरिन्छन्। “अहिले नयाँ बसपार्कमा ७५० वटा सवारीसाधन व्यवस्थापनका गर्ने क्षमता छ। सवारीसाधन अन्यत्र राख्नु आवश्यक छैन,” प्रवक्ता मानन्धरले भन्नुभयो। काठमाडौँ भित्रिने र बाहिरिने बस गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने कानुनी प्रावधान रहे पनि विशेष गरी चक्रपथवरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा, पेप्सिकोला, तीनकुने, पनौती, बनेपा, जोरपाटी, गौशाला, पशुपति क्षेत्रस्थित सडक किनारलगायतमा अव्यवस्थित रूपमा पार्किङ गर्दै आएको छ।