• १४ मंसिर २०८१, शुक्रबार

अवधि सकियो, बनेन पुल

blog

जयमान बुढामगर

रुकुमपूर्व, जेठ १९ गते  । सम्झौता अनुसार काम भएको भए तीन महिनाअघि नै रुकुम पश्चिम रुकुमपूर्वलाई जोड्ने एक महत्वपूर्ण पुल बनिसक्थ्यो। दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको सडक अन्तर्गतको सिस्ने गाउँपालिका–७ स्थित नाथिगाड खोलामा पक्की पुल निर्माण अवधि समाप्त भएर पनि पुल बन्न सकेको छैन। निर्माणको जिम्मा लिएको धुलिखेल–सिस्ने हिमाल जेभीको लापरबाहीले रुकुम पश्चिम–रुकुमपूर्वलाई जोड्ने सिस्ने–७ स्थित नाथिगाड खोलामा गत फागुन महिनाभित्र बनिसक्नुपर्ने पुल अझै निर्माण भएको छैन। 

डेढ वर्षदेखि नाथिगाड खोलामा पुल निर्माणको काम ठप्प छ। सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्व र धुलिखेल–सिस्ने हिमाल जेभीबिच २०७९ फागुन २३ भित्रै पुल निर्माण सक्ने गरी डेढ वर्षअघि सम्झौता भएको थियो। सडक बनेको लामो समयसम्म पुल नबन्दा सास्ती भोगिराखेको स्थानीय चन्द्रबहादुर केसीले बताउनुभयो। केसीले भन्नुभयो, “जिल्लालाई उत्तर–दक्षिण जोड्ने यस सडकको नाथिगाड खोलाको पुल कहिले बन्ने हो ठेगान छैन। पुल बनिसक्नुपर्ने समय सकिएर तीन महिना बितिसक्यो। बन्ने छाँटकाँट देखिँदैन।”

सुरुवातमा केही मात्रै काम भएको यो खोलामा अहिले काम गर्ने मजदुर पनि नभएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक खड्काले बताउनुभयो। खड्काले भन्नुभयो, “निर्माणको जिम्मा लिएका कम्पनीका मान्छेहरू सम्पर्कविहीन छन्। पुल नभएकै कारण यात्रुले सास्ती भोग्नु परेको छ।” 

पुल नहुँदा यात्रुले वर्षमा झन्डै छ महिना दुःख पाउँछन्। विशेष गरी वर्षायाममा खोलामा जलस्तर बढ्दा स्थानीयले सास्ती खेप्नुपर्छ। डेढ वर्षमा २० मिटर लम्बाइको पुल निर्माण गर्ने गरी करिब तीन करोड रुपियाँको बजेटमा ठेकेदारले जिम्मा लिएको थियो तर म्याद सकिँदासम्म हाल पुलको एउटा पनि पिल्लर निर्माण गरिएको छैन। 

एकतर्फको मात्र आधा पिल्लर निर्माण गरी पुल निर्माणको काम अलपत्रमा रहेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो। पुल निर्माण गर्ने म्याद सकिँदासम्म ठेकेदार सम्पर्कमा नभएपछि गएको वैशाख २० गते मुस्किलले कार्यालयको सम्पर्कमा ल्याई छलफल गर्दा काम अघि बढाउने प्रतिबद्धता जनाएकोमा त्यसदेखि पुनः सम्पर्कविहीन भएको खड्काको भनाइ रहेको छ। त्यस दिनदेखि ठेकेदार सम्पर्कमा नआएपछि अग्रिम जमानत जफतका लागि बैङ्कलाई पत्र पठाइएको खड्काले बताउनुभयो। समयमा काम नगरेको र सम्पर्कविहीन भएको उक्त ठेकेदारलाई जमानत जफत गर्नुका साथै ठेक्का रद्दको प्रव्रिmयामा कार्यालय अघि बढ्ने प्रमुख खड्काको भनाइ रहेको छ।