• ७ वैशाख २०८१, शुक्रबार

मधेश प्रदेश सभा बैठक

‘राष्ट्रपतिको कदम सराहनीय’

blog

राजविराज समाचारदाता

जनकपुरधाम, जेठ १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएकोमा मधेश प्रदेश सभाका सदस्यहरूले धन्यवाद दिनुभएको छ। मधेश प्रदेश सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्नुहुने अधिकांश सभा सदस्यहरूले राष्ट्रपतिको यस कदमको सराहना गर्दै धन्यवाद व्यक्त गर्नुभएको हो।

बैठकमा प्रदेश सांसद उपेन्द्र महतोले भन्नुभयो, “राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर धेरै राम्रो काम गर्नुभएको छ। धन्यवाद दिन चाहन्छु।” यस्तै उर्मिलादेवी सिंहले भन्नुभयो, “राष्ट्रपतिले रेशम चौधरीलाई आममाफी दिनुभएको छ, नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति र सरकार दुवैलाई धन्यवाद दिन चाहन्छु।” सभा सदस्यहरू जनार्दनसिंह क्षेत्री, कौशलकिशोर सिंह, रामअशिष यादवले राष्ट्रपतिलाई धन्यवाद दिँदै बैठकबाटै धन्यवाद प्रस्ताव पारित गर्न माग गर्नुभयो। 

बैठकको विशेष समयमा बोल्दै प्रदेश सांसद सतिशकुमार सिंहले प्रदेशका मिडियालाई अविलम्ब प्रदेश सरकारबाट लोककल्याणकारी विज्ञापन वितरण गर्न माग गर्नुभयो। “सरकारले लोककल्याणकारी विज्ञापनका लागि बजेट छुट्याएको छ, साउनबाट विज्ञापन वितरण सुरु गर्नुपर्नेमा अहिलेसम्म भएको छैन,” उहाँले भन्नुभयो। 

यस्तै प्रदेश सांसद किरणकुमारी साहले सर्पदंशका बिरामीको मृत्यु भइरहेकाले समुचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रदेश सभा सदस्य कञ्चन बिच्छाले सार्वजनिक शिक्षा निःशुल्क गरी गुणस्तरीयता ल्याउन सरकारसँग माग गर्नुभयो। बैठकमा सभा सदस्यहरू जैनुन खातुन, विनादेवी शर्मा, इन्दुकुमारी साह, रानी शर्मा तिवारीलगायतले सरकारको विभिन्न कामकारबाहीबारे ध्यानाकर्षण गराउनुभएको थियो।