• ५ वैशाख २०८१, बुधबार

ताप्लेजुङमा पन्ध झोलुङ्गे पुल निर्माण

blog

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नवनिर्मित लप्सीबोटे नरकटे पुच्छर झोलुङ्गे पुल । तस्बिर सौजन्य : पूर्वाधार विकास कार्यालय, पाँचथर

नारायण तुम्बापो 

फिदिम, जेठ १७ गते । पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा गत असोजदेखि निर्माण थालिएका १५ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय पाँचथरले स्थानीय उपभोक्ता समितिसँगको सहकार्यमा पुल निर्माण भएको हो ।  

चालु आर्थिक वर्षमा बनाइ सक्ने लक्ष्यसाथ निर्माण थालिएका पुलहरु आठ महिनामा निर्माण भएका हुन् । निर्माण सम्पन्न पुल पूर्णरुपमा सञ्चालनमा आइसकेको पूवार्धार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । 

नयाँ पुल पाँचथरमा १० र ताप्लेजुङमा ५ वटा निर्माण भएको उहाँले बताउनुभयो । पाँचथरको फिदिम नगरपालिकामा भ¥याङ खोला, चुनेदोभान र याङवरक गाउँपालिकाको शिवा खोलामा नयाँ पुल बनाइएको हो । त्यसैगरी फालेलुङ गापामा गुप्तेश्वर–पानामा–खरबारी, सिरिसे सिल्लि पाखा–खोलाघारी, गोवाटार च्याने, बज्राठे थरीटारमा बनेका छन् । 

दक्षिणी मिक्लाजुङ गापाको नावाखोला–थामथुम दोभान, कुरुङखोला–जामुनबोटे–अविरजङ्ग जग्गा जोड्ने र लप्सिबोटे–नरकटेमा पनि निर्माण गरिएको छ ।  ताप्लेजुङ अन्तर्गत फूङ्लिङ नपाका ओठे थवाङ र निकाश खोलामा नयाँ पुल थपिइएको छ । जिल्लाको मेरिङ्देन गापाको ओगेन–साईजिम जोड्ने र फक्तालुङ गापाको हेल्लोक र मेन्देवा खोलामा पनि बनाइएको छ । 

नयाँ बनेका पुलबाट पाँचथर, ताप्लेजुङका विकट हजारौ ग्रामीणवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । नयाँ पुल बनेपछि आफूहरुले राहत पाएको ताप्लेजुङका हेल्लोक खोला झोलुङ्गे पुल निर्माण समिति अध्यक्ष उत्तरमान लिम्बूले बताउनुभयो । पन्ध्र वटा पुल निर्माणका लागि आठ करोड ५२ लाख ७९ रुपियाँ लागत लागेको  पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।