• १५ चैत २०८०, बिहिबार

छिमेकी चरा गणना सुरु, मोबाइल एपमार्फत गणना गरिने

blog

छिमेकी चार मोबाइल एपबाट गणना गर्न सिकाउँदै पन्छी संरक्षण संघ । तस्विर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ १७ गते । मानव बस्ती आसपास आउने चराको गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा जेठ १८ गतेदेखि छिमेकी चरा गणना हुने भएको हो । 

मानव बस्ती आसपासमा आउने दूरबिन बिना पहिचान गर्न सकिने १ सय बढी प्रजाति र अन्य चराको गणना गरिने सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो ।

जेठ २५ गतेसम्म ‘छिमेकी चरा’ एप्लीकेशनको मार्फतबाट जो सुकैले पनि आफ्नो घर टोलमा देखिएका चराको गणना गर्न सकिने छ । छिमेकी चरा कार्यक्रमका अधिकृत आरती नेपाली भन्नु हुन्छ, "चरा अवलोकनमा चासो दिने देशभरमा सानो समुदाय रहेको छ । यसलाई विस्तार गर्न जरुरी छ । नागरिकहरू छिमेकी चरा गणनामा सहभागी हुँदा चरा प्रतिको प्रेम बढ्दै जाने छ । चराको रहनसहन समेत थाहा हुनेछ । समुदायमा रहेका चराको अवस्था समेत थाहा हुने छ ।"

सन् २०२२ देखि छिमेकी चराको गणना गर्न सुरु भएको सङ्घका कार्यक्रम अधिकृत भूपाल नेपालीले बताउनुभयो । जाडो याम र गर्मी याममा वर्षमा दुई पटक गणना हुने छ। स्थानीय जनताको सहभागिता गराउन हरेक जिल्लामा स्वयंसेवकको व्यवस्था गरिएको बताइएको छ । ती स्वयंसेवकले समुदायमा पुगेर चराको विषयमा जानकारी दिने, पहिचान गर्न र एप्लीकेशनबाट गणना गर्न सिकाउने बताइएको छ ।

यस्तै, आफ्नो घर, छत, सडक, पार्क लगायतका स्थानमा देखिएका चराको गणना हुनेछ । गणना गर्ने स्थानमा कम्तीमा १५ देखी ३० मिनेटमा देखिने चराको रेकर्ड राखी सहयोग गर्न सङ्घले अनुरोध गरेको छ । 

कसरी गणना गर्ने छिमेकी चरा

‘छिमेकी चरा’ एप्लिकेशनको प्रयोग गरी जो सुकैले गणनामा सहभागी हुन सक्ने सङ्घले जनाएको छ । जसका लागी एप डाउनलोड गर्नुपर्ने हुन्छ । जसमा नेपालमा पाइने 

चराहरूको चित्र र विशेषता उल्लेख गरिएको छ भने घर वरपर देखिएका चराको चित्र हेरी पहिचान गर्न सकिने बताइएको छ । गणना गरेको चराको विवरण एकको माध्यमबाट पठाउन सकिने छ । चरा गणना गर्दा मोबाइलको लोकेसन अन गरी जिल्ला छान्नु पर्ने बताइएको छ ।