भुवन कार्की
रुपन्देही, जेठ १७ गते । विश्व धार्मिक पर्यटनको केन्द्र रुपन्देहीको लुम्बिनीमा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। दैनिक रूपमा हुने फोहोरको उचित सङ्कलन र व्यवस्थापन नहुँदा लुम्बिनी परिसरमा भ्र्रमण गर्ने पर्यटकलाई समेत असहज हुने गरेको छ।
वीरगन्जबाट लुम्बिनी भ्रमणमा आएका अजय कलवारले भन्नुभयो, “लुम्बिनीको मायादेवी मन्दिरमा मात्र सरसफाइ गरेर पुग्दैन, वरिपरिका सबै क्षेत्रमा सरसफाइ गर्नुपथ्र्यो तर त्यस्तो देखिएन। वरपरका धेरै ठाउँमा थुप्रिएको फोहोरको डङ्गुरले हामीलाई त असहज लाग्यो भने विदेशी पर्यटकलाई कस्तो हुन्छ होला।”
काठमाडौँबाट लुम्बिनी घुम्न आएकी अनुजा शाक्यले भन्नुभयो, “लुम्बिनी निकै शान्त र सुन्दर छ तर सरसफाइमा भने खासै ध्यान दिएको देखिएन। यस्तो क्षेत्रमा त पर्यटकले नदेख्ने गरी फोहोर व्यवस्थापन गर्न सक्नु पथ्र्याे।”
लुम्बिनी परिसरमा स्टिमर सञ्चालन गरिएको नहरमा पानी दूषित रहेको भन्दै शाक्यले पानीको शुद्धताका लागि सरसफाइमा थप ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। धुलो, झारपात तथा जमेको लेउले नहरको पानी फोहोर बनेको भन्दै उहाँले गुनासो गर्नुभयो। अघिल्लो महिना लुम्बिनी भ्रमणमा आएका नेपाल सरकारका पर्यटनमन्त्री सुदन किरातीले लुम्बिनीमा फोहोर बढेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो। पर्यटनमन्त्री किरातीले समेत यहाँ दुर्गन्ध भएको गुनासो गरे पनि सरसफाइमा लुम्बिनी विकास कोषले खासै चासो दिएको छैन। लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले कामदार अभावले गर्दा सरसफाइमा असहज भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सरसफाइका लागि जम्मा १२ जना कर्मचारी राखिएका छन्। तिनले सकेजति काम गरेकै छन्, धेरै कर्मचारी राखेर तलब दिन सकिने अवस्था छैन।”
लुम्बिनीको पूर्ण सरसफाइका लागि कहिलेकाहीँ एक दुई दिनका लागि बाहिरी कामदार मगाएर सफाइ गर्ने गरिएको शाक्यले बताउनुभयो। नियमित सरसफाइ गर्ने कामदारको कमीले गर्दा सरसफाइमा चुनौती रहेको उहाँको भनाइ छ। लुम्बिनी एक हजार १५७ बिघा क्षेत्रफलमा रहेको छ। तारबार गरिएको लुम्बिनीको मायादेवी मन्दिर र शान्ति दीप प्रज्वलन गरिएको क्षेत्रबाहेकका धेरैजसो ठाउँमा फोहोरको डङ्गुर देख्न सकिन्छ। स्टिमर चलाइएको नहरमा लेउ र झारपात सफाइ नगर्दा पानी दूषित बनेको छ।
लुम्बिनीको पर्सा चौराहा चोकबाट दक्षिणतर्फका पाँच वटा प्रवेशद्वार वरिपरि सबैभन्दा बढी फोहोरका थुप्राहरू देख्न सकिन्छ। पर्सा चौराहा चोकदेखि दक्षिणतर्फका होटलहरूले समेत प्रवेशद्वार वरिपरि फोहोर फाल्ने गरेका छन्। पर्यटक आए कारोबार हुने होटल व्यवसायीले समेत फोहोर व्यवस्थापनमा ध्यान नदिँदा थप समस्या परेको छ। लुम्बिनीको तारबारभित्रै फोहरका थुप्राहरू देख्न सकिन्छ।