• ८ वैशाख २०८१, शनिबार

मातृशिशु मृत्युदर शून्य

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, जेठ १७ गते । सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाको तथ्याङ्क अनुसार मातृ तथा नवजात शिशु मुत्युदर शून्य रहेको छ। मातृ तथा नवजात शिशुको अकालमै मृत्यु हुन नदिन नगरपालिकाले सुरक्षित मातृत्व कार्यक्रम  सञ्चालन गरेको छ। 

गर्भवतीलाई स्वास्थ्य संस्थामा प्रसूति गराउन विभिन्न जनचेतनामूलक कार्यक्रमका साथै प्रोत्साहन भत्ता कार्यक्रम  सञ्चालन गरिएपछि अहिलेसम्म सुत्केरी र नवजात शिशुको मृत्यु भएको छैन। यसलाई नगरपालिकाले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। सुत्केरी आमा र शिशुको मृत्यु नभए पनि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य हुन सकेको छैन। चालु आर्थिक वर्षको १० महिनामा तीन गर्भवतीले घरमै बच्चा जन्माएका छन्।

नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार चालु आवको वैशासम्म एक हजार १६ महिला सुत्केरी भएका छन्। तीमध्ये तीन जना घरमै सुत्केरी भएका हुन्। ओखलढुङ्गा सदरमुकाम नजिकैको वडा नम्बर १० बेतेनीको एक र वडा नम्बर ६ को जन्तरखानीका दुई जनाले घरमै बच्चा जन्माएका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक आइतबहादुर राईले जानकारी दिनुभयो।

घरमै सुत्केरी भए पनि आमा र शिशुको मृत्यु नभएको उहाँको भनाइ छ। अझै पनि नगरपालिकाको ग्रामीण भेगका बस्तीमा पुरानो सोच कायम रहेकाले गर्भवती महिला घरमै सुत्केरी हुने गरेका राईले  बताउनुभयो। शतप्रतिशत प्रसूति स्वास्थ्य संस्थामा गराउनका लागि आगामी दिनमा प्रभावकारी जनचेतनामूलक कार्यक्रम  सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो।

मातृ र नवजात शिशु मृत्युदर कम गर्न प्रोत्साहन कार्यक्रम  सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास र स्वास्थ्य संस्थामा गएर गर्भवती जाँच गराउनु पर्छ भन्ने विश्वास बढाउने कार्यक्रम  गरिएको सिद्धिचरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन लामाले बताउनुभयो। 

जिल्ला स्वास्थ्य कार्यालय, रुम्जाटारको आयोजनामा सुरक्षित मातृत्व र परिवार नियोजनसम्बन्धी भएको अन्तरक्रियामा  सिद्धिचरणको तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिका र अन्य स्वास्थ्य कार्यालयमार्फत सुरक्षित मातृत्व, नवजात शिशु स्याहार तथा परिवार नियोजनको महत्वबारे आमनागरिकलाई जानकारी दिइएका कारण मातृशिशु मृत्युदरमा शून्य नतिजा आएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका निमित्त कार्यालय प्रमुख शिवकुमार यादवले बताउनुभयो।