• १३ वैशाख २०८१, बिहिबार

आकर्षक गन्तव्य बिसहजारी ताल

blog

भरतपुर समाचारदाता 

चितवन, जेठ १७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीदेखि छ किलोमिटर दूरीमा रहेको विश्व रामसार सूचीमा सूचीकृत सिमसारको अपूर्व नमुना हो बिसहजारी ताल। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो क्षेत्र ताल, सिमसार क्षेत्र र सालको घनाजङ्गलबिच पाँच हजार ७८१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

पश्चिम चितवनलाई सिञ्चित गर्ने उद्देश्यका साथ खगेरी खोलाको पानी ल्याउने व्रmममा निर्माण भएको यो ताल २०५० सालयता मात्र चर्चामा आउन थालेको हो। खगेरी नहरको मुहानदेखि २० हजार फिटको दूरीमा रहेका कारण यो तालको नाम बिसहजारी ताल रहन गएको बताइन्छ।

बच्चा हुर्काउन विभिन्न प्रजातिका चरा साइबेरियादेखि आउने गरेकाले यो क्षेत्र प्रसिद्ध भएको हो। यो ताल क्षेत्र गैँडा, जरायो, चित्तल आदि जनावरका लागि महत्वपूर्ण चरन क्षेत्र पनि हो। यस क्षेत्रमा २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा रहेको तथ्याङ्क छ।

केही वर्षअघिसम्म प्रत्येक वर्ष जलकुम्भीले ढाकिएर तालको सौन्दर्य नै बिग्रने गरेकोमा यति बेला भने सफा र कञ्चन छ। विगतमा ताल सफाइमा जुट्नुभएका परशुराम (अजीव) पौडेल भन्नुहुन्छ, “सबैको प्रयासले तालको रूप नै फेरिएको छ।”पर्यटन व्यवसायी एवं निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाका अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि आउने ३० प्रतिशतभन्दा बढी पर्यटकले बिसहजारी ताल अवलोकन गर्ने गरेका छन्। उहाँका अनुसार बिसहजारी ताल क्षेत्र प्राकृतिक दृश्यावलोकन, जलचरसँगै चरा अवलोकनका लागि महìवपूर्ण क्षेत्रका रूपमा मानिन्छ।