• १४ मंसिर २०८१, शुक्रबार

अवैध उत्खनन् गरेको विरोधमा पालिका घेराउ

blog

दिवाकर पोख्रेल

देउखुरी, जेठ १६ गते । दाङको राजपुर गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । "अवैध उत्खनन् बन्द गर। नदी दाहोन गर्न पाइँदैन" भन्दै पालिका घेराउ गरिएको हो । 

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । उत्खनन् अनुमतिको वाहाना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानबिनको माग समेत गरेका छन् । दुई लाख घनमिटर भन्दा बढी गिट्टी बालुवा उत्खनन् गरेर क्रसर मार्फत विक्री गरिएको आन्दोलन पक्षको आरोप छ । 

आन्दोलन पक्षले गाउँपालिका अध्यक्षकै मिलेमतोमा उत्खनन् गरेको आरोपसमेत लगाएका छन् । राजपुर गाउँपालिका बहुमत कार्यपालिका सदस्यले आन्दोलनरत पक्षलाई समर्थन गरेको पाइएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोकाले अनुमति लिएको भन्दा ज्यादै धेरै मात्रामा उत्खनन् गर्ने र त्यसको राजश्व पनि नतिरेका कारण आफूहरूले विरोध जनाएको जानकारी दिनुभयो । 

राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले अवैध उत्खनन्को नाममा गरिएको आन्दोलनको अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उहाँहरूको बिना आधारको आरोप हो, हामीले उत्खनन्को अनुमति पाएको क्षेत्रबाट मात्रै उत्खनन् गरेको हौँ ।” पालिकाकै निगरानीमा उत्खनन् भएको र उक्त उत्खनन् वैधानिक भएको उहाँले बताउनुभयो ।