काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ १७ देखि हुने भारत भ्रमणको तयारीका सन्दर्भमा सरोकारवालाहरूसँग बहुपक्षीय छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका राजनीतिक सन्दर्भमाथि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र राजनीतिक दलका नेताहरूसँग परामर्श गर्नुभएको हो।
त्यसै गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै सन्दर्भमा कूटनीतिक परामर्श पनि गर्नुभएको छ। पूर्वपरराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूतहरू र परराष्ट्र मामिलाका विज्ञहरूसँग समेत उहाँले परामर्श गर्नुभयो।
राष्ट्रिय हित अपरिहार्य
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलाई सफल बनाउन आह्वान गर्नुभएको छलफलमा आएका सुझावलाई दृष्टिगत गरेरै अघि बढ्ने बताउनुभयो। बैठकपछि उहाँले भन्नुभयो,
“भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सबै दलका नेताहरू, विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ। मैले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव सुनेँ। अरूको सुझाव आउँदै छ। अहिलेसम्म सबै सकारात्मक छ।”
प्रधानमन्त्री प्रचण्डले सबैका तर्फबाट राष्ट्रहितका पक्षमा छलफल र समझदारी गर्नुपर्छ भन्ने पक्षमा सकारात्मक सुझाव आएको बताउनुभयो। उहाँले सोही अनुरूप राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो।
सम्बन्ध सुधारमा जोड
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहित शीर्ष नेताहरूले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सम्बन्ध सुधारको अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो।
त्यसै गरी पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, नेपाली कांग्रेसका नेता डा नारायण खड्का, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले पञ्चेश्वर परियोजना, सीमा समस्याको समाधान, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनसहित द्विपक्षीय सम्बन्ध र राष्ट्रिय हितलाई सर्वोपरि राखेर विश्वास र समझदारी कायम गर्न आग्रह गर्नुभयो।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्दै विश्वासको वातावरण बनाउनु प्रमुख मुद्दा भएको र सीमा समस्या, पारवहन, खुला सिमाना तथा १९५० को सन्धिका विषयमा छलफल गरेर सबै समस्याको प्याकेजमै समाधान खोज्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा र केपी ओलीजीको पालामा गठित इपिजीको प्रतिवेदन दुवै देशले ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ। एकमुष्ट सबै समस्या हल हुन्छ। एउटा एउटा गर्दा चाहिँ खासै समस्या समाधान हुँदैन। के कारणले रोकिएको हो भन्ने कुरा खुलाउनुपर्छ भन्ने सुझाव मैले राखेको छु।”
पूर्वपरराष्ट्रमन्त्री पाण्डेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा दुई देशबिच महत्त्वपूर्ण समझदारी बन्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो,
“प्रधानमन्त्रीजी धेरै आशावादी हुनुहुन्छ। दुई देशको सहयोगका विषयमा सहमति बन्ने, समझदारी र केहीमा सम्झौता पनि हुनेमा उहाँ विश्वस्त हुनुभएको मैले पाएँ।” उहाँले प्रधानमन्त्री प्रचण्डलाई सीमा विवादसँग सम्बन्धित विषयमा, पानी, जलविद्युत् आयोजनाका विषयमा बलियो आत्मविश्वासका साथ कुरा गर्न सुझाव दिएको बताउनुभयो।
पूर्वपरराष्ट्रमन्त्री डा खड्काले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र आर्थिक, व्यापारिक, ऊर्जासहित समग्र विषयमा संवाद अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो। उहाँले नेपाल, भारत, बङ्गलादेशबिच त्रिपक्षीय ऊर्जा र व्यापार सहकार्यका लागि पहल गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय हितलाई सर्वोपरि ठानेर पूरै तयारीका साथ जान प्रधानमन्त्रीजीलाई आग्रह गरेका छौँ, विभिन्न परियोजनाका सन्दर्भमा गम्भीर रूपमा विषय उठान गर्नुपर्ने दायित्व उहाँमाथि छ।”
उहाँले इपिजी, सार्क, विमस्टेक, पञ्चेश्वरसहित विभिन्न सम्झौता कार्यान्वयन गरी दुवै देशको हित हुने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत व्यापार घाटा कम गर्न वाणिज्य सन्धिको पुनरवलोकन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “नेपालका चिया, अलैँची, अदुवा, जुटलगायतको निर्यात भारतमा निर्वाध रूपमा गर्ने विषयमा सार्थक संवाद गर्न प्रधानमन्त्रीजीलाई सुझाव दिएका छौँ। नेपालको राष्ट्रिय हितमा तपाईंले दृढ रूपमा उभिँदा प्रमुख प्रतिपक्षी दलका तर्फबाट हाम्रो पूर्ण रूपमा समर्थन रहन्छ भनेका छौँ।”
पूर्वपरराष्ट्रमन्त्री डा लोहनीले देशको हितलाई दृष्टिगत गरेर बङ्गलादेशसँग त्रिपक्षीय समझदारी गरी पुराना सम्झौताको कार्यान्वयन गर्ने सम्बन्धमा पनि परामर्श गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो।