• १६ चैत २०८०, शुक्रबार

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

blog

टिम च्याम्पियन काठमाडौं ।

काठमाडौं, जेठ १४ गते । काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोस्रो भएको थियो ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र साङ्गीतिक प्रस्तुतिका शनिबार अबेर साथ सम्पन्न भयो ।

दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । काठमाडौंले थप २२ रजत र २५ कांस्य पनि जित्यो । डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो ।

चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गरे । शीर्ष तीन स्थानमा रहने टोलीलाई मुख्यमन्त्री जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।

बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।

फुटबलमा मकवानपुर च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ । हेटौंडोको पिप्ले क्याम्पा रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो ।

खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो । मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको पहिलो पेनाल्टी प्रहार गोल हुन सकेन ।

तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गर्नुभयो ।

काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । तर, काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण  जित्यो । चितवनका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।