• ९ मंसिर २०८१, आइतबार

म सम्पादक

blog

म एक सम्पादक दैनिक अखबारको

मालिकको नुन खाएको छु

नुनकै सोझो गर्छु

मालिकले जहाँ बोलाउँछन्, त्यहीँ जान्छु

राति, बिहान, मध्याह्न

भान्छामा, कोठामा, रेस्टुराँमा

शयन कक्षमा, बाथरुममा, बाटोमा

मालिकले जसरी बस् भन्छन्, त्यसरी नै बस्छु

उठ् भने उठ्छु, बस् भने बस्छु

नाच् भने नाच्छु, हाँस् भने हाँस्छु

मालिकबाट तालिम पाएको छु यस्तै

म एक सम्पादक दैनिक अखबारको


भक्ति गर्छु मालिकले मन पराएको मान्छेको

प्रशंसा गर्छु मालिक लागेको दल र नेताको

व्यापारी र हाकिमको,

तस्कर र भ्रष्टाचारीको

उछित्तो काड्छु त्यसको

जसलाई मेरा मालिक मन पराउँदैनन्

मालिकको जोसँग कुरा मिल्दैन–लेनदेन मिल्दैन

मालिकको आँखाको कसिङ्गरलाई

म बढारिदिन्छु तीखा शब्दले

मालिक समाचारको हेडिङ लामो भो भन्छन्– 

म छोट्याइदिन्छु

सम्पादकीय उल्टो भो भन्छन्– 

म सुल्ट्याइदिन्छु

म एक सम्पादक दैनिक अखबारको


धेरै समयअघिदेखि नै

मिडियालाई बादशाहको जुत्ता भनिएकै हो

त्यही जुत्तालाई सबैबाट सलाम पनि गरिएकै हो

मेरा मालिक, मेरा बादशाह हुन्

म उनलाई दिनहुँ सलाम गर्छु

मालिककै कारण 

म ठूलो मान्छे हुन पाएको छु

राष्ट्रपति, प्रधानमन्त्री, दलका नेता, व्यापारी

सबैलाई चाहेका बेला भेट्न सक्ने भएको छु

देश–विदेश सयर गर्न पाएको छु

महिनामा तलब खाएको छु

छोराछोरीलाई महँगा स्कुल पढाउन सकेको छु

हरेक दिनजसो रेस्टुराँमा खान पाएको छु

स्वाभिमान नाथेको के कुरा

खल्ती भरिएकै छ,

मान्छेहरूमाझ चिनिएकै छु

म एक सम्पादक दैनिक अखबारको


कुतखोर व्यापारीका कारण 

बजारमा नुन–तेलको सङ्कट छ,

कर्णालीमा सिटामोलको चरम अभाव छ,

भ्रष्टाचारले जनता आक्रान्त छन्

बोक्सीको आरोपमा महिला

जिउँदै जलाइएका छन्, 

बालिकाहरू बलात्कृत भइरहेका छन्,

दलितलाई सार्वजनिक इनार छुन बर्जित गरिएको छ

यस्सो भित्री पृष्ठमा

यी सबै समाचार छाप्दिएकै छु

चौथो अङ्गको धर्म निर्वाह गरेकै छु

म एक सम्पादक दैनिक अखबारको ।