• १४ मंसिर २०८१, शुक्रबार
blog

२०७८ साल असार १ गते मेलम्ची नदीमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची बजार । फाइल तस्बिर

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १४ गते । प्राकृतिक विपत्को ‘हटस्पट’ का रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम थालिएका छन्।  

जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो। 

विपत् प्रतिकार्ययोजना तयार गरिरहेको, स्वयम्सेवक, विशेषज्ञ, परामर्शदाता परिचालन र सुपरिवेक्षण गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट गरिने उद्धार तथा राहतमा समन्वय गरिरहेको उहाँले बताउनुभयो। विपत्बाट उच्च जोखिममा रहेका बस्तीको भौगर्भिक अध्ययन भइरहेको र उक्त जोखियुक्त बस्ती स्थानान्तरणबारे सुरक्षित स्थानको खोजी भइरहेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो। 

१४३ बस्तीको भौगर्भिक अध्ययन

जुगल गाउँपालिकाको चार बस्ती गोल्चे, सेलाङ, बाँसखर्क, लिदी, भोटेकोशी गाउँपालिकाको लार्चा, धनपाल, मिलन, खाग्दललगायतका ५३ बस्ती, बाह्रबिसे नगरपालिकाको टङ्सर, नागपुजेलगायतका ८३ बस्ती, बलेफी गाउँपालिकाको खमारे र चौतारा साँगाचोकगढी नगरपालिकाको देउरालीमा भौगर्भिक अध्ययन भएको सहायक प्रजिअ निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो। उक्त उच्च जोखिमयुक्त बस्तीलाई तत्कालै स्थानान्तरण गर्नुपर्ने सबैको प्रस्ताव आए पनि कहाँ सार्ने भन्ने टुङ्गो भइनसकेको उहाँले बताउनुभयो। 

स्थानीय विपत् व्यवस्थापन समितिले विपत् उत्थानशील कार्यढाँचा, पुनर्निर्माण र पुनस्र्थापना, विपत् व्यवस्थापनमा स्थानीय सव्रिmयता, प्रविधिमा आधारित विपत् व्यवस्थापन एवं विपत् सूचना केन्द्र निर्माणका काम थाल्ने भएको छ। भू–उपयोग योजनाको तर्जुमा र विकास निर्माणमा मूलप्रवाहीकरण, सङ्घीय प्रणालीअनुरूप कानुन, नीति, संरचना र योजनाका तर्जुमा ज्ञान, सीप र क्षमताको विकासमा स्थानीय विपत् व्यवस्थापन समितिले कार्य गर्ने भएको छ। 

विपत् पूर्वको तयारी, प्रतिकार्य, पुनर्लाभलगायतका क्षेत्रमा कार्य गर्न थाल्ने भएको छ। तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिको समन्वयमा गैरसरकारी संस्था, सशस्त्र प्रहरी बललगायतले विपत्जन्य क्षेत्रका युवा, शिक्षक, विद्यार्थीलगायतलाई विपत् प्रभावितलाई बचाउन व्यावहारिक तालिम दिँदै आएको छ। 

बहुप्रकोपबाट अति प्रभावित

सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपबाट अत्यन्त प्रभावित जिल्लाका रूपमा रहेको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको बहुप्रकोप मूल्याङ्कन तथा जोखिम नक्साङ्कन प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लाको ११ प्रतिशत क्षेत्र बाढीबाट अति उच्च संवेदनशील, ५६ प्रतिशत क्षेत्र उच्च संवेदनशील, ३१ प्रतिशत क्षेत्र मध्यम संवेदनशील र १.४ प्रतिशत क्षेत्र कम संवेदनशील देखिएको छ। 

त्यसै गरी पहिरोका लागि ६.४६ प्रतिशत क्षेत्र उच्च संवेदनशील, ३४.४९ प्रतिशत उच्च संवेदनशील, ५०.६९ प्रतिशत क्षेत्र मध्यम संवेदनशील र ८.३४ प्रतिशत क्षेत्र न्यून संवेदनशील पाइएको छ भने आगलागीका हिसाबले जिल्लाको ४.९२ प्रतिशत क्षेत्र अति उच्च, ४६.७७ क्षेत्र उच्च, ३२.७० प्रतिशत क्षेत्र मध्यम र १५.५९ प्रतिशत न्यून संवेदनशील देखिएको सो प्रतिवेदनले उल्लेख गरेको छ। सिन्धुपाल्चोकको उत्तरी क्षेत्र पहिरोको उच्च प्रकोपयुक्त क्षेत्र हो। 

बहुप्रकोपको अवस्थामा जुगल, हेलम्बु, पाँचपोखरी र भोटेकोशी गाउँपालिकाका धेरै भाग पहिरोको अति उच्च जोखिम र उच्च जोखिमयुक्त क्षेत्र हुन्। बलेफी, बाह्रबिसे, चौतरा, साँगाचोकगढी, मेलम्ची, त्रिपुरासुन्दरी र सुनकोशी धेरै भूभाग बाढीको अति उच्च र उच्च जोखिमयुक्त क्षेत्रमा पर्छन्। चौतारा साँगाचोकगढी आगलागीको समेत उच्च जोखिममा छ। 

११ वर्षमा तीन हजार ७४२ को मृत्यु

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि सबभन्दा बढी क्षति  सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लामा भएको थियो। २०७१ सालको जुरे पहिरो, २०७३ सालको भोटेकोशी जलाधारको तिब्बतीय क्षेत्रमा हिमताल विस्फोट हुँदा भोटेकोशी र सुनकोशीमा आएको बाढी, २०७७ सालको लिदी पहिरो, २०७८ मा भ्रेमाथाङमा गएको पहिरो र कटानले मेलम्ची नदीमा लेदोसहितको बाढी र पहिरो यस जिल्लामा विगत दशकमा भएका विपत्का मुख्य घटना हुन्। विगत ११ वर्षमा सिन्धुपाल्चोक जिल्लामा आठ प्रकारका विपत्का २६७ घटना भएका छन् र तिनमा तीन हजार ७४२ जनाले ज्यान गुमाएका छन्। 

कमजोर भौगर्भिक अवस्था

सिन्धुपाल्चोक पहाडी तथा उच्च हिमाली भूगोलमा अवस्थित जिल्ला भएकाले यहाँको जमिनको ढाल अत्यन्त भिरालो छ। यस जिल्लाको ८० प्रतिशतभन्दा बढी जमिन उच्च ढालयुक्त छ। उच्च भिरलोपन भएको भूभागमा सानो घटनाले मात्र पनि यसको गुरुत्वाकर्षण सन्तुलनमा फरक पर्ने बित्तिकै पहिरो र भूक्षयको जोखिम बढ्ने गर्छ। बहुप्रकोप मूल्याङ्कन तथा जोखिम नक्साङ्कन प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लामा पूर्वपश्चिम फैलिएर रहेका ‘मेन सेन्ट्रल थ्रस्ट’ र ‘मेन बाउन्डरी थ्रस्ट’ जस्ता भौगर्भिक चिरा र दरार रहेका छन्। यहाँको बलेफी, बाह्रबिसे र तारामाराङ क्षेत्र ‘मेन सेन्ट्रल थ्रस्ट’ को आसपासमा पर्छ। 

विगतका भूकम्पको केन्द्रबिन्दु र त्यसको घनत्वलाई समेत हेर्दा सिन्धुपाल्चोक जिल्ला सव्रिmय भूकम्पीय गतिविधिको क्षेत्रमा अवस्थित छ। यस कारण यस जिल्लामा भौगर्भिक प्लेटको गतिशीलता, भौगर्भिक अवस्था र उच्च रूपमा हुने भू–आकृतिको परिवर्तनले भूकम्प, पहिरो, बाढी भूक्षय जस्ता भूभौतिक प्रकोप उत्पत्ति हुनमा सहयोग पुगेको उक्त अध्ययनले देखाएको छ। यसबाहेक जलवायु परिवर्तनका कारण उच्च दरमा हिमनदी पग्लिने क्रम  र हिमाली क्षेत्रमा हुने असरका कारण हिमताल फुट्ने खतरा बढेको र बाढीपहिरोको जोखिम बढाएको छ। 

विपत् न्यूनीकरणमा चुनौती

सिन्धुपाल्चोकमा विपत् न्यूनीकरणका लागि विभिन्न समस्या र चुनौती रहेको जनाइएको छ। कमजोर भू–धरातल, अव्यवस्थित बस्तीको विकास, विपत् जोखिम नक्साङ्कनमा सुस्तता, विपत् प्रतिकार्यमा संस्थागत समन्वयको जटिलता समस्या रहेका छन्। यसै गरी जिल्ला स्तरमा विपत् व्यवस्थापनका कार्यालय नहुनु, न्यून स्रोतसाधान र प्राविधिक तथा वैज्ञानिक ज्ञान सिप भएका दक्ष जनशक्तिको अभाव, विपत् व्यवस्थापन प्राथमिकतामा नपर्नु, पुनर्निर्माण, पुनस्र्थापनाको लागत सहभागिता अव्यावहारिक, वार्षिक विनियोजित बजेटबाट विपत् व्यवस्थापन गर्न चुनौतीलगायतका समस्या रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।