काठमाडौं, जेठ १३ गते । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले हरायो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गर्नुभयो । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुल्नुभयो । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गर्नुभयो ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गर्नुभयो । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गर्नुभएको थियो । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गर्नुभयो ।
दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो ।