• १४ वैशाख २०८१, शुक्रबार

ममाथि आधारहीन र भ्रामक आरोप लगाइयो : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आधारहीन, असत्य र भ्रामक आरोप लगाएर सरकारले जनतालाई गुमराहमा पार्ने प्रयास गरिरहेको बताउनुभएको छ । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरी पित्तलको भनेर आधारहीन आरोप लगाइएको उहाँको भनाइ छ । 

पार्टी स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । जँड्याहाले पनि नबोल्नेखालको अभिव्यक्ति माओवादी सांसदले दिएको उहाँको टिप्पणी छ । आफूमाथि आधारहीन आरोप लागेपछि संसद् अवरुद्ध गरिएको उहाँले प्रष्टिकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी यतिबेला चौतर्फी घेराबन्दीमा छौँ । सत्तापक्षी दल एमालेलाई फसाउने षडयन्त्रमा लागेका छन्, मिडिया सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ ।” 

एमाले पार्टी सधैँ भ्रष्टाचारको विरुद्धमा उभिएको पार्टी भएको उहाँले बताउनुभयो । “एमालेलाई बदनाम गर्न खोजियो । एक जना माओवादी सांसदले कोभिडको औषधिमा एक अर्ब ओलीले खाएको भनेछन्” अध्यक्ष ओलीले थप्नुभयो, “पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेछन् भनेर बकबास कुरा गरेछन् । त्यस्को सरकारले, माओवादी पार्टीले पुष्टि गर्नुपर्छ ।” 

“मैले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु । त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । यो देशद्रोही तत्त्वहरूको काम हो” अध्यक्ष ओलीले आक्रोश पोख्नुभयो । “पशुपतिमा सुनको कि पित्तलको मैले ट्वाकट्वाक पार्न गएको थिए र त्यहाँ ? मैले त्यतिबेला प्रधानमन्त्रीको हैसियतमा रकम दिने हो, सुन हाल्न जाने होइन” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले सांसद लेखनाथ दाहालप्रति सङ्केत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको आक्रोश व्यक्त गर्नुभयो ।