• १५ चैत २०८०, बिहिबार

नागार्जुन नगरपालिकाले १५ ट्रक अव्यवस्थित तार हटायो

blog

फेरी समस्या हुन नदिन समिति गठन

काठमाडौँ,  जेठ १२ गते । नागार्जुन नगरपालिका -१ नम्बर वडाको सम्पूर्ण वस्तिहरूमा रहेका अव्यवस्थित केबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ । १ नम्बर वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार दुई महिनाभन्दा बढी समय लगाएर बस्तीको मुख्य र सहायक सडकहरूमा देखिने तारका गुजुल्टोको व्यवस्थापन कार्य सम्पन्न भएको हो ।

हामीले वडालाई वातावरणीय प्रदूषणबाट मुक्त राख्न र यसबाट हुन सक्ने मानवीय दुर्घटनाको जोखिम कम गर्न यो कार्य सुरु गरेर विभिन्न चुनौतीका बाबजुद चैत्र ८ गतेबाट सुरु गरेर जेठ ६ गते सम्पन्न गरेका हौँ, लामाले भन्नुभयो । वडा र नगरपालिकाको एक रुपियाँ पनि खर्च नगरी यो तार व्यवस्थापनको कार्य सम्पन्न भएको हो । 

स्थानीय बासिन्दाले निस्वार्थ रूपले प्रदान गर्नु भएको खाजा पानी र मेरो आफ्नै निजी खाजा खर्चको पैसाले यस कार्यमा जुट्ने कर्मचारीहरूले निरन्तर काम गर्न सक्नु भयो, उहाँले भन्नुभयो । यो दौरानमा कुल २५ किलोमिटर बस्तीका बाटोमा (मुख्य र सहायक भित्री सडक गरेर) रहेका अव्यवस्थित तार र जोखिम युक्त २७ वटा पोलहरू काटेर व्यवस्थापन गरिएको उनले जनाए। हामीले त्यसै गरी वस्तिहरूबाट कुल १५ ट्रक काम नलाग्ने कबुल र टेलिफोनका तारहरू व्यवस्थापन गरौँ, उहाँले भन्नुभयो । 

१ नम्बर वडास्थित राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष एक नारायण उपाध्यायका अनुसार तार व्यवस्थापनको कार्य सकिएपछि हाल बस्ती र मुख्य सडकहरू सफा र सुरक्षित देखिएका छन्। वडाको यो पहलकदमीले सम्पूर्ण वडावासीलाई खुसी र सुरक्षित महसुस गराएको छ।

त्यसै गरी, वडाकै स्थानीय बासिन्दा सुष्मा ढकालका अनुसार अहिले बस्तीको हरेको चोक र मुख्य सडकहरूमा तारको व्यवस्थापनले बस्ती सफा र हेर्न लायक भएको छ। अध्यक्ष लामाले भन्नुभयो, अब पनि पुनः यो अव्यवस्थित तरिकाले तारहरू राख्न कार्य रोक्न स्थानीय र वडाले स्थापना गएको एउटा तार व्यवस्थापन कमिटीका सदस्यहरूले निरन्तर अनुगमन भएर सोही अनुरूपको कार्य हुनेछ।