• १५ जेठ २०८०, सोमबार

अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी : डम्बरकुमारी

blog

अमेरिका जान अस्वीकार गर्नुहुने सक्कली भुटानी शरणार्थी डम्बरकुमारी काफ्ले । तस्बिरः विष्णु

दमक, जेठ १२ गते । हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरेराम लेखिएको साना गाम्चा लगाएर यताउता हिँडडुल गर्दैमा उहाँको दिन बित्छ । उहाँ हुनुहुन्छ, सक्कली भुटानी शरणार्थी महिला डम्बरकुमारी काफ्ले । अहिले नक्कली भुटानी बनेर विदेश जान खोजेको र करोडौँको चलखेल भइरहेको विषय उहाँलाई जानकारी छैन ।

‘बाबु मलाई कहीँ कतै पनि जान मन छैन, अब यही नै मर्ने इच्छा छ र मलाई केही लोभ पनि छैन ।’ भुटानी शरणार्थी शिविर बेलडाँगीको एक रुखमुनि शीतलमा बस्नु भएकी  ८४ बर्षीया काफ्लेले भन्नुभयो । भुटानबाट छोरीलाई साथमा लिएर आउनु भएकी उहाँ अहिले शिविरमा एक्लो जीवन बिताइरहनु भएको छ । मलाई यही नै जिन्दगी ठिक लागेको छ, उहाँले भन्नुभयो । छोरी सहित आफन्तहरू सबै अमेरिका लगायतका देश पुगिसकेका छन् ।

अहिले उहाँ बेलडाँगी २ हट नं. २३२ मा बसोबास गर्नु हुन्छ । उहाँका छोराहरू छैनन् । दुई जना छोरी रहेका छन् । छोरी ज्वाइँ पुर्नवास भएर तेस्रो मूलक जानु भएको छ । मलाई पनि जाऊ भन्नु भएको हो तर मैलै नै मानिन, उहाँले भन्नुभयो । छोरी ज्वाइँ शिविरमा नै आएर आफूलाई भेटेको पनि उहाँले जनाउनु भयो । छोरीज्वाइ दुवै जना आउनु भयो तर मैले यही नै खुसी छु भने, उहाँको भनाई थियो ।

भुटानको चोक्सा अर्थात् अहिलेको गठिया भन्ने स्थान उहाँको पुर्ख्यौली हो । श्रीमान्ले अर्को विवाह गरेर उहाँलाई छाड्नु भएको रहेछ । अर्को विवाह गरेर उहाँले आफ्नै घर बसाल्नु भयो र म आफै सङ्घर्ष गरे, उहाँले थप्नु भयो । मान्छेले भाग्यमा जे लेखेर आएको हुन्छ त्यो नै हुने हो यसमा चिन्ता गर्नु पर्ने छैन, उहाँले भन्नुभयो । 

म यही खुसी छु र यही रमाएको छु, उहाँ भन्नुहुन्छ । यति भनिरहँदा उहाँको आँखामा टिल टिल आँसु भने छचल्किरहेको देखिन्थ्यो । उहाँलाई आफू जन्मेको भुटानमा नै गएर मर्ने रहर रहेको थियो । अब त्यो रहर पुरा होला भन्ने उहाँलाई लागेको छैन । अब यही शिविर नै आफ्नोलागि संसार बनेको छ, उहाँको भनाई छ ।

सन् २०१६ देखि भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास प्रक्रिया पूर्ण रूपमा बन्द भएपछि शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनएचसिआर)ले आफ्नो कार्यालय पनि दमकबाट उठाएको छ । भुटानी शरणार्थीहरूका लागि तेस्रो देश पुर्नबाससँगै स्वदेशफिर्तिको ढोका पनि खुला रहने बताइएको थियो । स्वदेश फिर्तीको ढोका अहिलेसम्म खुलेको छैन र खुल्ने छाँट पनि देखिँदैन ।

आफ्नो पुरानो पुर्ख्यौली तथा जन्मिएको थातथलो अर्थात् स्वदेश फर्कन चाहने अधिकांश ज्येष्ठ नागरिकहरू शिविरमा रहनु भएको छ । काफ्लेको जस्तो पीडा शरणार्थी शिविर भित्र धेरैको रहेको छ । अधिकांश वृद्ध वृद्धा स्वदेश फर्कन पाउने आसले नेपालमै बसेका थिए । जसका छोराछोरी तेस्रो मुलुक पुनर्वास भइसकेका छन् ।

भुटानले सन् १९९० को दशकमा जबरजस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गर्दै भुटान फर्काउने विषयमा नेपाल सरकारसँग वार्ता गर्न नचाहेको पाइन्छ । सन् २००९ र सन् २०१४ मा भुटानले राष्ट्रसङ्घीय मानव अधिकार परिषदमा बुझाएको प्रतिवेदनमा शरणार्थीहरू अवैधानिक आप्रवासी भएको उल्लेख गरेको थियो । 

नेपाल र भुटानबिच शरणार्थी फिर्तीका विषयमा अन्तिम पटक वि.स. २०६० मा १५औँ चरणको वार्ता भए पनि त्यसपछि वार्ता भएको छैन । अमेरिका, बेलायत, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, डेनमार्क, क्यानडा र अस्ट्रेलियामा १ लाख १३ हजारभन्दा बढी शरणार्थीहरू पुर्नवास भएका छन् । शिविरमा अहिले पनि ६ हजारभन्दा बढी शरणार्थीहरू रहेको बताइँदै आएको छ ।

Author

विष्णुप्रसाद पोखरेल