• ४ वैशाख २०८१, मङ्गलबार

सिन्धुली अस्पतालको सेवा अवरुद्ध

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ १२ गते । सुत्केरी गराउन ल्याइएकी गर्भवती महिलाको मृत्यु भएपछि भएको प्रदर्शनी र तोडफोडका कारण दुई दिनदेखि सिन्धुली अस्पतालले सेवा दिन सकेको छैन। 

कमलामाई नगरपालिका–५, सिलामेकी गङ्गामाया श्रेष्ठ गुरुङको मङ्गलबार मृत्यु भएसँगै आक्रोशित भिडले अस्पताल तोडफोड गरेको भन्दै कार्यरत चिकित्सक काममा नफर्किएपछि यो समस्या आएको हो।

सोही विषयलाई लिएर बुधबार अस्पतालमा कार्यरत १४ जना चिकित्सकले सामूहिक राजिनामा घोषणा गरेका छन्। उनीहरू बिहीबारसम्म काममा नफर्किएको अस्पतालले जनाएको छ।  अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार तोडफोडपछि असुरक्षा महसुस गर्दै उपचारका लागि भर्ना भएका १६ जना बिरामी अहिले सम्पर्कविहीन छन्। “अहिले अस्पतालको आकस्मिक सेवासहित सबै सेवा ठप्प छ। अस्पतालमा भएको तोडफोडका कारण संरचना क्षतविक्षत भएको छ। अब ती संरचना नबनाई डाक्टरसाबहरू काममा फर्किने अवस्था छैन,” श्रेष्ठले भन्नुभयो।

अस्पताल विकास समितिका अध्यक्ष शतिषकुमार ढकालले सिन्धुली अस्पतालका सबै सेवा खुलाउने प्रयास भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा डाक्टरसाबहरूले काम गर्ने अवस्था छैन। सबै भौतिक संरचनामा क्षति भएको छ। संरचना मर्मत भएपछि उहाँहरू काममा फर्किनुहुन्छ।”

तोडफोडबाट सिन्धुली अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्षलगायतका भौतिक संरचनामा क्षति हुँदा करिब डेढ करोड रुपियाँभन्दा बढीको क्षति भएको अस्पतालले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सकेसम्म चाँडै अस्पतालको सेवा प्रवाह सुचारु गर्ने प्रयास भइरहेको बताउनुभयो।