• ६ वैशाख २०८१, बिहिबार

..र जरुरी छ तिम्रो नव–विद्रोह

blog

हो, अतीतसँग पैँचो लिई लिई  

म वर्तमान जिउने प्रयत्न गरिरहेको छु

तर प्रश्नहरू ठडिन छाडेका छैनन्– 

कुन जीवन ? कस्तो जीवन ?

सारहीन अस्तित्वको कुन अर्थ ? 

कस्तो अर्थ ?

प्रश्नहरू अनेक छन्

संशय अनेक छन्

मेरो इतिहास

मौन रहनका लागि

बाध्य किन बनाइएको छ ?

अग्निपरीक्षाको पृष्ठभूमिको

खोजी किन गरिँदैन ? 

जिज्ञासाहरूको हठात समन

विद्रोहको कारण बन्न सक्छ ।

तर आश्चर्य 

जनकको भूमिमा 

अष्टाबक्रहरूको अश्तित्वमाथि

शान्तिको नाममा पटक पटक

आक्रमण हुन्छ

जानकीका सपनाहरू

माटोमुनि छोपिन्छन-छोपिएको छ  

र पटक पटक आयोजना हुन्छ अग्निपरीक्षाहरू ।


ए तिमी सुन्दैछ्यौ नि ?

हो तिमीलाई नै भनिरहेको छु,

अग्निपरीक्षापश्चात् पनि 

तिमीले विद्रोह गर्न किन सकिनौ ?

र किन, माटोमुनि पुरिएर बस्यौ ?

सायद यिनै प्रश्नको उत्तरको अभावमा

विद्रोह  र समर्पणबीचको

भेद बुझ्न

म सधैँ असफल रहेँ ।

सायद त्यसैले मेरा खुट्टा

सधैँ लरबराइरहेँ 

विद्रोहको कुरा गर्दा

कथित संस्कारले मलाई 

अगाडि बढ्नबाट रोक्छ, 

तर कहिलेसम्म रोकिएला र ?

सुन्छ्यौ भने तिमी सुन– 

म अतीतका आधारमा

वर्तमान जिउने

प्रयत्न त्यसबेलासम्म गरिरहन्छु

जबसम्म तिमी  

नवविद्रोह गर्दिनौ ।।