• ९ मंसिर २०८१, आइतबार

एउटा भ्रम र भ्रान्तिको अन्त्येष्टि गरिदेऊ

blog

जीवनको एउटा विशाल कोलाहाल समाप्त भएको छ 

कृपया शान्त बनिदेऊ आफन्तहरू 

महाशून्यताको यात्राको तयारी गरिदेऊ प्रियजनहरू 

बटो खाली गरिदेऊ साथीसङ्गती, छरछिमेकहरू 


एउटा सानो क्रन्दनको सङ्गीत सिर्जना भएको छ 

जीवनका लागि आँखामा हल्का आँसुको नृत्य गराऊ

मेरा मनका मान्छेहरू 

जीवनको अन्तिम स्वरूप प्रकट भएको छ

अतितका लागि एक छिन्

मौनधारण गरिदेऊ 

मेरा परिचितहरू 


जीवनको घाउबाट 

एउटा खिल बाहिर आएको छ 

कृपया विस्तारै उड चराहरू 

एक छिन् 

नहल्ली ठाडो वन बटवृक्षहरू 

महाशन्तिका लागि मलाई अन्तिम स्वीकृत देऊ 

मैले मुटु साटेका परिवेशहरू 

महायात्राका लागि मलिन मुस्कान छरिदेऊ

मैले रोपेका आँगनका फूलहरू 


म अन्तिम गन्तव्यमा हिँडेका बेला 

एक छिन् बार्दलीमा शान्त बसिदेऊ

गन्तव्यहीन यात्राका पाइलापाइला चुमेर 

साँझ पर्खि बस्ने 

कुकुर, बिरालो, परेवा या कुखुरा यस्तैयस्तै पशुपन्छीहरू 


सबैले बुझ 

प्रियसीसँगको प्रेमभन्दा गहिरो प्रेम 

म मृत्युसँग गरिरहेको थिए 

आफन्त, स्वजनलाई भन्दा 

म मृत्युलाई नजिक राखिरहेको थिए 


एउटा भ्रमको व्योम सिर्जना गरेर 

मैले मृत्यु साधना गरिरहेको थिएँ

आज मोक्षयात्राका लागि पूर्ण सफल भएको छु


मेरो अन्तिम प्राप्ति मृत्यु 

मेरो मुटुमा सुतेको छ 

मधुर सङ्गीत बजाऊ 

विस्तारै मूल ढोका खोल

र 

आँखामा क्षणिक उजाड दृश्य

अनुहारमा केही क्षणको अन्योल

मनमा धमिलो विगत बोकेर 

शान्तभावमा ताली बजाएर 

एउटा भ्रम र भ्रान्तिको अन्त्येष्टि गरिदेऊ 

(कवि बेलवासेले मृत्यु विषयमा शृङ्खलाबद्ध कविता लेखिरहेका छन् । उनको यो १३आँै मृत्यु शृङ्खला कविता हो ।)