• ९ जेठ २०८१, बुधबार

काजकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा

blog

काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, जेठ १० गते । काजकिस्तान समूह विजेता बन्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हरायो । काजकिस्तानले उज्वेकिस्तानलाई २४-२६, २५-१६, २५-११, २५-१८ ले हराउँदै समूह विजेता बनेको हो ।

समूहमा काजकिस्तानले तीन खेलबाट नौ अङ्क बनायो । समान खेलबाट ६ अङक बनाएको उज्वेकिस्तान उपिविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । श्रीलंका र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिए । 

सेमिफाइनलमा काजकिस्तानले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । उपविजेता उज्वेकिस्तान समूह ‘ए’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ बाट सेमिफाइनलमा पुगिसकेको नेपाल र भारतबीच बुधबार (आजै) प्रतिस्पर्धा हुनेछ ।

यस खेल जित्ने टोली समूह विजेता बन्नेछ । बुधबार नै भएको समूहको ‘ए’ को खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा हरायो । किर्गिस्तानले बंगलादेशमाथि २५-१६,२५-११, २५-२० को जित निकालेको थियो । किर्गिस्तान समूहमा तेस्रो र बंगलादेश चौथो भयो ।