• २५ असार २०८२, बुधबार

मेची राजमार्ग अवरुद्ध, डाइभर्सन मर्मत गरी खुलाउने तयारी

blog

बाढीले क्षति पु र्‍याएको हेवा खोलाको डाइभर्सन मर्मत गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, असार २५ गते ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ ।

मङ्गलबार अविरल वर्षासँगै आएको बाढीले हेंवा खोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो । जसकारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर –ताप्लेजुङ खण्डमा यातायात अवरुद्ध भएको हो ।

पानीको सतहले डाइभर्सन पार गरेर दुईवटा ह्युम पाइप थिचेका ढुङ्गा बालुवा बगाएका कारण सडक अवरुद्ध भएको सडक डिभिजन इलामका इन्जिनियर सिताराम गौतमले बताउनुभयो । उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्कावेटर परिचालन गरिएको छ ।

मर्मत कार्य सम्पन्न गरेर सवारी अवागमन गराउन प्रयास भइरहेको र केहि घण्टामै सडक खुल्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

पाँचथर सदरमुकाम फिदिमसहित तल्लो तटीय क्षेत्रमा करिब एक सातादेखि खडेरी लागिरहेको थियो । यसैबिच मङ्गलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा अविरल वर्षा भएपछि खोलामा बाढी आएको हो ।