जलिरहेको चितामाथिको आकाशमा
सकी नसकी उडिरहेको कालो र बाक्लो
धुवाँहरूले निर्मित शरीरको
सक्कली आयतन नाप्न
घाटको छेउमा
टोलाइरहेछन् मेरा आँखाहरू ।
एकैछिन् अघिसम्म
लासै भए पनि मान्छेरूपी
आवरणमा लमतन्न त्यो शरीर
भर्खरै...
धुवाँका हजारौँ शरीर भएर
मलामीलाई देखाइरहेछ
आफ्नो नयाँ आकृति
रुवाइरहेछ धूमिल मान्छेका
प्रिय आफन्तहरू ।
हेर्दै नसुहाउने
बेनामे, बेछन्दे
प्रलयकारी मुस्लोको
त्यो उड्दै गरेको
अस्थिर शरीरका अङ्गहरूमा
म नियाल्न खोज्दैछु
त्यसका केही स्थिर अस्तुहरू ।
हेर्नुस् त,
हिजोसम्म संसार देख्ने
ती तेजिला आँखा
संसारले देख्ने उसका सुन्दर अनुहार
गन्ध र सुगन्ध टिप्ने उसको नाक
आवाजहरूलाई पहिचान गर्न सक्ने
शक्तिशाली तिनै कानहरूलाई
आगोका ज्वालाहरूले
क्षणभरमै सर्लक्कै निलिसकेको छ ।
के तपाईं भन्न सक्नुहुन्छ ?
जन्मिँदैदेखि उसका अभिभावकले
चाल पाउने गरेको उसको तौल वा उचाइ ?
हुर्कंदै गर्दाको जवानीको जोस ?
उसका कर्मशील समयका जीवनहरू ?
बुढ्यौली अनुभवका असीमित भारीहरू ?
ती सबै सबैलाई
काला कणहरूमा विलय गराएर
प्रलयकारी मुस्लो बनेर उडिरहेको यो धुवाँको
तौल कति होला ?
मेरा आँखाका
परेली नथाक्दै
चिताबाट हुर्हुर्ती निस्किएको
त्यो कालो छाया र लस्करहरूको गन्ती नहुँदै
यतै कतै हावामा
स्वात्तै हराइसकेछ
त्यो धुवाँरूपी शरीर
सपनाको चलचित्रझैँ ।
यता,
उस्तैगरी बगिरहेको
बागमतीको तरल शरीर मात्र देख्छु
रिँगटा लागेको टाउकोभित्रको
मेरो रित्तो मस्तिष्कलाई
नदीले एकाएक सोध्यो–
थाहा पाउनुभयो ?
त्यो हराइसकेको
धुवाँको शरीरले
फटाफट नापेर गयो नि
मलामीका
अनेकानेक सग्ला आकृतिहरू !
तर फेरि पनि
जलिरहेको चितामाथिको आकाशमा
सकी नसकी उडिरहेको कालो र बाक्लो
धुवाँहरूले निर्मित अस्थायी शरीरको
सक्कली आयतन नाप्न
घाटको छेउमा
टोलाइरहेछन् मेरा आँखाहरू ।