• २० वैशाख २०८१, बिहिबार

प्रेम गङ्गा

blog

वर्तमान हामी

बगे पनि, जमे पनि

बाफिए पनि, वर्षिए पनि

हाम्रो अस्तित्व एउटै हो !

तिमी पनि पानी, म पनि पानी 


बाफ बनेर उड्दै गर्दा आकाशमा

कहिलेकाहीँ सुटुक्क भेटौँला

झरौँला सँगसँगै

सिञ्चित गरेर मायाका बस्तीहरूलाई

चुमेर सुक्खा बगरहरूलाई

अनि बगौँला आफ्नो–आफ्नै दिशातर्फ

ठिकै छ, तिमी मेची बनेर बग्नु

म महाकाली बनेर बगौँला 

घुम्दै–फिर्दै भविष्यमा

जसरी सुरु भएथ्यो, मायाको भूल

त्यसैगरी दुवै मिलेर

बनाउँला एउटा प्रेम गङ्गा

तिमी पनि पानी, म पनि पानी ।