• ११ मंसिर २०८१, मङ्गलबार

शेर्पासँग बराबरीमा रोकियो चर्च ब्वाइज

blog

लिगमा प्रतिस्पर्धा गर्दै चर्च ब्वाइज र हिमालयन शेर्पाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, जेठ ८ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा शीर्ष टोली चर्च ब्वाइजले शेर्पासँग १-१ गोलको बरबारी खेल्दै अङ्क बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले सुरुवती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो । चर्च ब्वाइजका लागि अन्जन विष्टले १३औं मिनेटमा गोलको खाता खोल्नुभएको थियो । तर, ३६औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याउनुभयो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएपछि अङ्क बाँडेका हुन् । बराबरीसँगै २० खेलबाट ३७ अङ्क बनाएको चर्च ब्वाइज शीर्षस्थानमा यथावत छ । समानखेलबाट २६ अङ्क बनाएको शेर्पा सातौं स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई ३(० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदील राईले गोल गर्नुभयो ।

जगजितले २६औं मिनेटमा गोल गर्दै आर्मीको उत्साह जगाउनुभयो । ७५औं मिनेटमा नवयुगले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा सुदिलले गोल गर्दै आर्मीलाई सजिलै जिताउनुभयो ।

यता डोना थापा पेनाल्टीमा चुकेपछि फ्रेन्ड्स गोलरहित हार खेप्न बाध्य बन्यो । जितसँगै पाँचौं स्थानमा रहेको आर्मीले २० खेलबाट २९ अङ्क बनाएको छ । समान खेलबाट २१ अङ्क बटुलेको फ्रेन्ड्स १३औं स्थानमा छ । फ्रेन्ड्स रेलिगसनको चर्को दबाबमा छ ।