• २८ पुस २०८१, आइतबार

काभा भलिबल : नेपालको सानदार सुरुवात

blog

किर्गिस्तानविरुद्ध नेपाली टोली ।

काठमाडौं, जेठ ८ गते । साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा सानदार सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हरायो ।

घरेलु कोर्टमा समर्थकको साथ पाएको नेपालले २५-११,२५-१९, २५-११ को सहज जित निकालेको हो । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क बनाएको छ । नेपालले समूहको दोस्रो खेल मङ्गलवार बङ्गलादेशसँग खेल्नेछ । 

प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता रहनेछ । उद्घाटन अघि सोमबार नै भएको खेलमा भारत र उज्बेकिस्तानले पनि विजयी सुरुवात गरेको छ । भारतले बङ्गलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । 

एकपक्षीय प्रदर्शन गरेको भारतले २५-३, २५-९, २५-६ को जित निकालेको हो । यस्तै उज्बेकिस्तानले श्रीलङ्कालाई ३-० को सोझो सेटमा हरायो । उज्बेकिस्तानले २७-२५, २५-२०, २५-१४ को जित निकालेको थियो । 

च्यालेन्ज कपमा सहभागी टोलीमा आयोजक नेपालसहित बङ्गलादेश, भारत, मालदिभ्स, श्रीलङ्का, कजाकस्तान, किर्गिस्तान र उज्बेकिस्तान छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै भारत, बङ्गलादेश र किर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र काजकिस्तान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।