काठमाडौँ, जेठ ८ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तमाथि पुनः तीन दिनको म्याद थप भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका अभियुक्तमाथि पाँच दिनको म्याद थप गर्न सिफारिस गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले अभियुक्तलाई प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने भनी म्याद थप गर्न सिफारिस गरेको थियो । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान पूरा भइनसकेकाले म्याद थपका लागि अदालतमा पेस गरिएको जानकारी दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारीमा जुटेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नक्कली भुटानी शराणार्थी बनाई अमेरिका पठाउने भन्दै लाखौँ रकम असुल गरिएको भन्दै पीडितको जाहेरीपछि प्रहरीले चैत १२ देखि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको दायरामा आइनसकेका तर संलग्न अन्य अभियुक्तलाई समेत कानुनी दायरामा ल्याउन विकल्पसहित पूरक प्रतिवेदन पुनः पेस गर्ने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
त्यसै गरी संविधान सभा सदस्य आङ्टावा शेर्पा, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी अधिकारकर्मी नेता टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्दीप शर्मा, नरेन्द्र केसी, सागर राई सन्देश शर्मामाथि अनुसन्धान भइरहेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनमा २०७६ वैशाखमा कार्यदल गठन भएको खुलेको छ । कार्यदलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाएको प्रतिवेदन नै हेरफेर गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको पाइएको छ । सो प्रकरणमा प्रत्यक्ष संलग्न भई रकम लेनदेन गरेको पाइएपछि पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक थापा, निरज राईलाई भने प्रहरीले अझै फेला पार्न सकेको छैन। प्रहरीले हालसम्म पक्राउ परेका १६ जना र फरार रहेका १६ गरी ३२ जना अभियुक्तमाथि राज्यविरुद्धको कसुर, ठगी तथा सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयलाई सिफारिस गर्ने जनाएको छ।