अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ५ गते । मुस्ताङमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले उत्पादन गरेको तरकारीको बिउ देशका विभिन्न भागमा पुग्ने गरेको छ । शीतोष्ण हावापानीमा उत्पादन भएको बिउबाट उत्पादन राम्रो हुने भएकाले पनि त्यसको माग उच्च हुने गरेको छ ।
मुख्य रूपमा शीतोष्ण फलफूलको उत्पादन भन्ने गरिए पनि त्यससँगै शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गुणस्तरीय मूल बिउ र प्रजनन बिउ उत्पादन हुँदै आइरहेको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले मार्फामा रायो (मार्फा चौडा पात), मुला (टोकिनासे), बन्दा (कोपन हेगन मार्केट), गाजर (नान्टिस फोर्टे), स्विस चार्ड (सुसाग), सलगम (पर्पल टप) को बिउ उत्पादन हुने गरेको छ ।
धनियाँ (स्थानीय), लसुन (स्थानीय भोटे लसुन), आलु (कार्डिनल) जस्ता तरकारी बालीको बिउ उत्पादन निकै राम्रो तवरले हुँदै आएको उहाँको भनाइ छ । केन्द्रबाट उत्पादन हुने मूल बिउ उत्पादन तथा यसको गुणस्तरीयता कायम राख्न नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिकहरूको प्रत्यक्ष निगरानीमा केन्द्रमै प्रजनन बिउ उत्पादन गरिने उहाँले बताउनुभयो ।
गुणस्तरीय बिउ बिक्री गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नोमा उत्पादन भएको प्रजनन बिउ भने बिक्री वितरण नगरी मूल बिउ मात्र बिक्री वितरण गर्ने गरेको छ । नेपालमा अधिकांश कृषकले कम गुणस्तरको बिउ प्रयोग गर्न बाध्य हुने अवस्था रहेको छ । मार्फाका अगुवा कृषक दीपक लालचनले शीतोष्ण बागवानी विकास केन्द्रमा उत्पादित बिउ प्रमाणीकरण गरिएको हुनाले ढुक्क भएर प्रयोग गर्न सकिने बताउनुभयो
गुणस्तरीय बिउ उत्पादन गर्न र प्रमाणीकरण गर्न नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि अनुसन्धान केन्द्र (लुम्ले), गण्डकी बिउबिजन प्रयोगशाला (पोखरा), राष्ट्रिय आलु, तरकारी तथा मसला बाली केन्द्र (कीर्तिपुर) मा प्रमाणीकरण गर्ने गरिएको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र (हरिहर भवन) सँग निरन्तर समन्वय गरेर बिउ प्रमाणीकरण गर्ने गरेको आत्रेयको भनाइ छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फा रायोको बिउ तथा सागका लागि प्रसिद्ध मानिन्छ । मार्फा चौडा पात भन्ने रायोको जात त्यही केन्द्रबाट विकास भएको हो । शीतोष्ण बागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा मात्रै यहाँ रायो ४२० केजी, मुला एक सय केजी, बन्दा ६५ केजी र गाजर ४५ केजी बिउ उत्पादन गरेको थियो । स्विस चार्ड ७० केजी, सलगम ३५ केजी, धनियाँ ४५ केजी, बिउ लसुन पोटी १५० केजी, बिउ आलु दाना तीन हजार सात सय केजी उत्पादन गरेर बिक्रि गरेको आत्रेयले बताउनुभयो ।
तरकारीको जात तरकारीको बिउ उत्पादन गर्ने ठाउँ अनुसार फरक हुने शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख आत्रेय बताउनुहुन्छ । मार्फाको मूल बिउ हिमाली र उच्च पहाडी भागमा उन्नत बिउ उत्पादन गर्न सकिने उहाँको भनाइ छ । तल्लो पहाडी तथा तराईमा यहाँ उत्पादित बिउबाटै अन्य उन्नत बिउ उत्पादन गर्न नसकिने उहाँले जानकारी दिनुभयो ।
अहिले मार्फामा सबैजसो तरकारी बाली फूल फुल्ने अवस्थामा छन् । फूल फुल्ने बेलामा रङ्गीविरङ्गी फूलहरूले तरकारीको बिउ उत्पादन ब्लक नै मनमोहक देखिएको छ । तरकारी खेतीबाट मनग्गे फाइदा लिन गुणस्तरीय बिउ उत्पादन गर्नु निकै महत्त्वपूर्ण हुन्छ । तरकारीको बिउ न्यून आयतन भएको उच्च मूल्य जाने कृषि उपजका रूपमा लिन सकिने आत्रेयको भनाइ छ ।