शिक्षण एउटा प्राविधिक कार्य हो । आधुनिक शिक्षा प्रणालीमा यसलाई विज्ञान र कलाको संयुक्त रूप पनि मानिन्छ । शिक्षण कार्यका लागि शिक्षण विधि र कौशल दुवैकोे आवश्यकता पर्दछ । शिक्षण विधिले प्रस्तुतीकरणको शैलीलाई बुझाउँछ भने कौशलको अर्थ शिक्षणमा अपनाइने कार्यनीति हो । शिक्षणमा ज्ञानात्मक, भावनात्मक, क्रियात्मक र व्यावहारिक पक्ष जोडिएका हुन्छन् ।
कुमालेले घैँटोको आकार दिए जस्तो, मूर्तिकारले मूर्ति बनाए जस्तो, चित्रकारले चित्रहरूलाई पूर्णता दिएर सुन्दर बनाए जस्तो शिक्षण कार्य पनि कलाकाररूपी (शिक्षक) को शिक्षण कलाकौशलको आधारमा उसले आफ्नो स्टुडियोभित्र (शिक्षालयभित्र) विद्यार्थीलार्ई ज्ञान हस्तान्तरण गरी निर्धारित सिकाइका उपलब्धि हासिल गराउन विभिन्न विधि अपनाउनु पर्ने हुन्छ । यस अर्थमा शिक्षण कार्य प्राविधिक कला हो । ज्ञान, विज्ञान र कलाको मिश्रित रूप हो ।
शिक्षण कला अन्तर्गत शिक्षकले कुन तहको कक्षामा कुन कुन पाठ, कुन कुन उद्देश्य प्राप्तिका लागि, कुन शिक्षण विधि अपनाई कस्ता शैक्षिक सामग्रीको प्रयोगद्वारा, कति समय लगाई शिक्षण गर्दा पाठमा निर्धारित लक्ष्य पूरा हुन सक्दछन् भन्ने सैद्धान्तिक एवं व्यावहारिक विधि पर्दछन् । शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउन श्रव्य सामग्री, दृश्य सामग्री, श्रव्य–दृश्य सामग्रीको प्रयोग गर्न आवश्यक ठानिन्छ । गुरुजनले पाठको निर्धारित उद्देश्य हासिल गर्न आवश्यकता अनुसार पत्रपत्रिका, स्लाइड्स, चार्ट, नक्सा, ग्लोब, फ्लास्कार्ड, शब्दोपत्ति जस्ता शैक्षिक सामग्री प्रयोग गर्न आवश्यक हुन्छ । यसका अतिरिक्त आधुनिक शिक्षण सिकाइमा भिडियो, अडियो वा प्रोजेक्टर आदिको प्रयोग गरी शिक्षण सिकाइलाई जीवन्त बनाउन सकिन्छ ।
हाम्रो देशका अधिकांश शिक्षालयमा शिक्षण सिकाइ प्रक्रिया गुणस्तरीय एवं विद्यार्थीमैत्री हुन नसकेको अवस्था छ । परम्परागत शिक्षण विधिबाट विद्यार्थीलाई ज्ञान थुपार्ने काम भइरहेको छ । शिक्षामा शास्त्रको वर्णनात्मक व्याख्या गर्ने काम भएको छ । भाषा, विज्ञान, गणित, दर्शन, अर्थशास्त्र वा अन्य विधाका पाठ्यपुस्तकमा भएको विषयवस्तुलाई भाषण, व्याख्या, विश्लेषण गरी विद्यार्थीलाई कण्ठस्थ गर्न लगाउने शिक्षण शैली आउटडेटेड विधि हो । परन्तु देशका शिक्षालयको शिक्षण सिकाइ पद्धति यस्तै ‘न्यारेसन सिक्नेस’ बाट ग्रस्त छ ।
यस्तो शिक्षण सिकाइले शिक्षार्थीको सृजनाका ढोका खुल्न सक्दैनन् । विद्यार्थीको आफ्नोपन हराउँछ । मौलिक चिन्तन, वैज्ञानिक तर्क, सृजनात्मक शक्ति, अन्वेषण र अनुसन्धानका दायरा साँघुरिन्छन् । सिकाइ रचनात्मक हुन सक्दैन । यस्तो शिक्षण सिकाइ अधुरो हुन्छ । अपूरो हुन्छ । तसर्थ शिक्षण सिकाइलाई आधुनिक, प्रविधिमैत्री तथा कलात्मक बनाउन जरुरी छ । जसरी मेडिकल सर्जनले बिरामीको रोगलाई पत्ता लगाई निको बनाउँछन्, त्यसरी नै योग्य शिक्षक प्राध्यापकले सिकारुमा रहेका समस्याको पहिचान गरी सरल तरिकाले ज्ञान हस्तान्तरण गर्ने क्षमता राख्नु पर्दछ ।
सिकारुमा रहेको आन्तरिक क्षमतालाई बाहिर ल्याउने माध्यम जीवन्त शिक्षण हो । कुनै पनि कार्य सम्पन्न गर्नका लागि विशेष किसिमको सिपको आवश्यकता परे झैँ शिक्षणलाई प्रभावकारी बनाउन शिक्षण कौशलको खाँचो हुन्छ । यो कौशलतालाई मूर्त रूप दिने आधार भनेको शिक्षकको ज्ञान, योग्यता, क्षमता, अध्ययन, अनुसन्धान, अनुभव एवं आफूमा भएको ज्ञान हस्तान्तरण गर्ने शिक्षण सिप हो । यो सिपलाई सफलतापूर्वक प्रस्तुतीकरण गर्न र व्यवहारमा उतार्न शिक्षक, प्राध्यापकले विद्यार्थीको मनोविज्ञान, उमेर, पूर्वज्ञान, मानसिकता, रुचि, कठिनाइलगायत पक्षको राम्ररी अध्ययन गरी सोही मुताविक शिक्षण गर्नु पर्दछ ।
शिक्षाशास्त्री रोवट फोस्टरले शिक्षण आफूमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला हो भनेका छन् । यो कलाभित्र शिक्षकले शिक्षण कौशलमा दक्ष हुनुका साथै सिकारुमा अध्ययन गर्ने भोकको जागरण गराउन सक्नु पर्दछ । वैज्ञानिक आइन्स्टाइन भन्छन्, “मैले विद्यार्थीलाई पढाउँदिन, केवल उनीहरूले पढ्ने वातावरण सृजना गरिदिन्छु ।” उनको भनाइको अर्थ सिकाइका लागि शैक्षिक वातावरणले ठूलो भूमिका निर्वाह गर्छ भन्ने हो ।
शिक्षाको केन्द्रबिन्दु विद्यार्थी भएकाले सिक्ने र सिकाउने वातावरणको सिर्जना गर्दा कक्षाकोठाको व्यवस्थापन, शैक्षिक सामग्रीको तयारी, विद्यार्थी केन्द्रित व्यावहारिक शिक्षण कला, शिक्षकको व्यवहारलगायतले प्रभाव पार्दछन् । शैक्षिक वातावरणले विद्यार्थीमा पढाइप्रति रुचि जगाउँछ । रुचिले अल्छीपन भगाउँछ । सिक्ने प्रेरणा जागृत गराउँछ । त्यसैले शिक्षण सिकाइमा शैक्षिक वातावरण आवश्यक ठानिन्छ ।
शिक्षाशास्त्री विलियम अथरले शिक्षण स्तरको वर्गीकरण गर्दै साधारण शिक्षकले विद्यार्थीलाई विषयवस्तु भन्दछन्, राम्रा शिक्षकले व्याख्या गर्दछन्, उत्कृष्ट शिक्षकले डेमोस्ट्रेट गर्दछन् भने महान् शिक्षकले प्रेरित गर्दछन् भनेका छन् । विलियम अथरले भने जस्तो गुरुजन शिक्षण पेसामा आफू महान् बन्नका लागि प्राज्ञिक आवश्यक हुन्छ । यसका लागि शैक्षिक ज्ञान र शिक्षण सिपका साथै राम्रो चालचलन, असल व्यवहार, उदाहरणीय व्यक्तित्व, सभ्य, सुशील, योग्य, मिठो बोली, स्नेहीपूर्ण व्यवहार, सहनशील, धैर्यवान्, नेतृत्व सिप, पक्षपातरहित व्यवहार र सहयोगी व्यक्तित्व आवश्यक ठानिन्छ । उल्लिखित गुणले सम्पन्न गुरुजनको व्यक्तित्वले विद्यार्थीको सिकाइमा प्रभावकारी भूमिका निर्वाह गर्छ ।
त्यसो त शिक्षण सिकाइका बारेमा विद्वान्का विभिन्न धारणा रहेको पाइन्छ । शिक्षा मनोविद् थर्नडाइकले सिकारुले भुल र प्रयत्नको आधारमा सिक्न सक्छ भने । यसको अर्थ सिक्ने क्रममा गल्ती र कमीकमजोरीलाई बारम्बारको प्रयत्नले निखरता आउँछ भन्ने हो । यसैगरी अर्का शिक्षाविद् भिसिल म्यानले कुनै पनि कुराको सिकाइमा सिकारुको दृष्टिकोणले काम गरेको हुन्छ भन्छन् । मर्सेल सिकाइमा अर्थपूर्ण विषयको स्मरण बढी र अर्थहीन विषयमा विस्मरण ज्यादा हुने गर्छ भन्ने धारणा राख्छन् । यसरी हेर्दा विद्यार्थीलाई उज्ज्वल भविष्यको मार्गचित्र देखाउनुका साथै अध्ययन अध्यापन गर्ने विषयको अर्थपूर्ण महत्त्वलाई बुझाउनु पर्दछ । यसो हुन सकेमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ ।
समय परिवर्तनशील छ । जसरी समयसँगै समाज पनि परिवर्तन हुन्छ, त्यसरी नै शिक्षा र यससँग जोडिएका अवयव पनि परिवर्तन हुन्छन् । शिक्षाको उद्देश्य, नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, मूल्याङ्कन प्रव्रिmयालगायतमा समयसापेक्ष परिवर्तन भइरहन्छन् । तसर्थ गुरुजन पनि सोही मुताविक अपडेट हुन आवश्यक हुन्छ । कलेज वा विश्वविद्यालयमा आर्जित ज्ञान मात्र शिक्षण पेसाका लागि पूर्ण नहुन सक्दछ ।
शिक्षाशास्त्री हेनरी फ्रेड्रिकले उचित सल्लाह दिन सक्ने कला नै उत्तम शिक्षण हो भने झैँ गुरुजनले विद्यार्थीलाई उचित राय, सल्लाह, सुझाव र निर्देशन दिन सक्ने क्षमता राख्नु पर्दछ । यसका लागि गुरुजनमा देश, काल, परिस्थितिको अध्ययन वा जानकारी आवश्यक हुन्छ । विद्यार्थी गुरुजनभन्दा नयाँ पुस्ताका हुन्छन् । नयाँ पुस्तालाई भोलिका लागि तयार गर्ने कुरा अध्ययन, अनुसन्धान र दृष्टिकोणको अभावमा सम्भव हुँदैन । तसर्थ शिक्षण पेसामा आबद्ध जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका नयाँ ज्ञान, विज्ञान, खोज, अनुसन्धानलगायतका ज्ञानमा अपडेट हुन आवश्यक ठानिन्छ ।
विद्यार्थीका लागि शिक्षक, प्राध्यापक मार्गनिर्देशक हुन् । नैतिकताको प्रतिमूर्ति र प्रेरणाका स्रोत व्यक्ति हुन् । यसका साथै उनीहरू विद्यार्थीका अनुसन्धानकर्ता, परिवर्तनकर्ता, मूल्याङ्कनकर्ता, समन्वयकर्ता, व्यावसायिक मित्र पनि हुन् । विद्यार्थीमा मित्रताको अनुभूति गराउन शिक्षकमा शिष्ट भाषा शैली, शालीन व्यक्तित्व, दयालु स्वभाव, सहयोगी भावना जस्ता गुण आवश्यक हुन्छ । यसरी हेर्दा शिक्षक–प्राध्यापक व्यक्ति एक व्यक्तित्व अनेक हुन सक्नु पर्दछ ।
अन्त्यमा शिक्षक हुन सजिलो होला तर असल शिक्षक बन्न सहज छैन । असल गुरुको दर्जामा आपूmलाई उभ्याउन बालमनोविज्ञान, शिक्षण सिकाइको अध्ययन, शैक्षिक सामग्री छनोट र प्रयोग, समसामयिक ज्ञान, शिक्षण सिप आदि जस्ता प्राज्ञिक गुण वाञ्छनीय हुन्छ । यसका साथै आधुनिक शिक्षण सिकाइमा प्रविधिमैत्री शिक्षण कला पनि समयको माग हो । त्यसैले गुरुजनले शास्त्रीय शिक्षण शैलीलाई रूपान्तरण गरी आधुनिक, बालमनोविज्ञानमा आधारित, प्रविधिमैत्री एवं सिकारु केन्द्रित शिक्षण सिकाइमा आपूmलाई सक्षम बनाऔँ । गुणस्तरीय, जीवन्त एवं विद्यार्थीकेन्द्रित शिक्षणका ज्ञान तथा सिप आर्जन गरौँ । प्रयोग गरौँ । शिक्षण कला हो, कलात्मक बनाऔँ ।
लेखक शिक्षाविद् हुनुहुन्छ ।